कोशीलाई उपेन्द्रले मान्यता नदिने, अबदेखि १ नम्बर नै भन्ने

कोशीलाई उपेन्द्रले मान्यता नदिने, अबदेखि १ नम्बर नै भन्ने

पहिचानका आधारमा प्रदेशको नामाङ्कन हुनुपर्ने पक्षमा वकालत गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) ले ’कोशी प्रदेश’ नामलाई मान्यता नदिने भएको छ । कोशी नामाङ्कनप्रति असन्तुष्ट रहेको उक्त पार्टीले औपचारिक रुपमा प्रदेश सभाले अनुमोदन गरेको नाम प्रयोग नगर्ने जनाएको हो ।  

अध्यक्ष उपेन्द्र यादवले आज पार्टीका विभिन्न कमिटी तथा जनवर्गीय संगठनहरुलाई परिपत्र गर्दै कोशीलाई ‘प्रदेश १’ कै नामले सम्बोधन गर्ने जानकारी गराएका छन् । पार्टीको केन्द्रीय समिति, प्रदेश समिति, पहिचानमा आधारित समितिहरु र जिल्ला समिति तथा जनवर्गीय संगठनहरुलाई एकमुष्ठ पत्र पठाएर उनले कोशी शब्दको ठाउँमा साबिकको १ नम्बर प्रदेशकै नाम प्रयोग गर्ने बताए । 

यसअघि चैत १ गते पठाइएको परिपत्रमा संयोगवशः कोशी नाम परेकोमा त्यसलाई सच्याएर यादवले अर्को पत्र पठाएका हुन् । ’मिति १०७९।१२।०१ गते पार्टीबाट पठाइएको परिपत्रमा संयोगवशः कोशी प्रदेश शब्द पर्न गएको हुँदा सोलाई सच्याई तत्कालको लागि प्रदेश नम्बर १ नै प्रयोग गर्ने जानकारी गराइन्छ’, परिपत्रमा भनिएको छ ।   

मधेश आन्दोलनबाट स्थापित जसपा पहिचानमा आधारित नाम हुनुपर्ने पक्षमा रहँदै आएको छ । त्यसका लागि कोशी प्रदेश खारेजीको माग गर्दै पूर्वका विभिन्न जातीय संगठनहरुले गरेको आन्दोलनप्रति ऐक्यबद्धता पनि जनाएको छ । 

परिपत्रमा अध्यक्ष यादवले तत्कालका लागि प्रदेश नम्बर १ नै प्रयोग गर्ने र पछि नाम परिवर्तन भएको खण्डमा परिवर्तित नाम प्रयोग गरिने पनि उल्लेख गरेका छन् ।

टिप्पणीहरू