एमालेलाई साथ दिएन राप्रपाले, तीन ठाउँमा एक्लै उठ्ने

एमालेलाई साथ दिएन राप्रपाले, तीन ठाउँमा एक्लै उठ्ने

गत मंसिरको चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको पूर्वपञ्चहरुको पार्टी राप्रपाले बैशाख १० गते हुने उपचुनावमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । सोहीअनुसार उसले तीनवटै क्षेत्रमा उम्मेदवार टुंगोसमेत लगाएको छ । 

आज बसेको राप्रपा संसदीय समितिको बैठकले उम्मेदवार टुंग्याएको हो ।  जसअनुसार  चितवन–२ मा जीवलाल पुरी, बारा–२ सोनेलाल शाह र तनहुँ–१ मा शोभा गुरुङ उम्मेदवार छानिएका छन् ।राप्रपाले मङ्सिर ४ को चुनावमा नेकपा एमालेसँग तालमेल गरेको थियो । त्यसैको बलमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सहित कूल १४ सिट जितेको उ अहिले एमालेसँगै प्रतिपक्षमा छ । 

सरकार गठनदेखि बाहिरिने सम्मका निर्णयमा एमालेलाई साथ दिँदै आएको राप्रपाले उपचुनावमा भने एकल प्रतिस्पर्धा गर्न लागेको हो । एमालेले पनि तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने तयारी गरेको छ ।

टिप्पणीहरू