रवि लामिछानेलाई फेरि चुनावमा उठ्न बाधा

रवि लामिछानेलाई फेरि चुनावमा उठ्न बाधा

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाले सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बैशाखको उपचुनावमा उम्मेदवार हुन कानुनी बाधा पर्ने देखिएको छ । 

लामिछानेको सम्भावित उम्मेदवारी विदेशको स्थायी आवासीय अनुमति पत्र त्यागेको कम्तिमा तीन महिना पछि मात्रै नियुक्ति, उम्मेदवारका लागि योग्य हुने कानुनी प्रावधान विपरित हुने भएकाले विगतमा जस्तै उनीमाथि कानुनी झमेला आइलाग्ने देखिएको हो । यसअघि चितवन-२ बाट उम्मेदवारी मनोनयन गर्दा पनि उनको उम्मेदवारी विवादमा परेको थियो । तर,त्यतिबेला कसैले पनि कानुनी चुनौती नदिएपछि चुनाव जितेर मन्त्रीसम्म भएका उनी अदालतको फैसलाबाट पदच्यूत भएका थिए । 

संविधानको धारा २९१ मा विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्ति कम्तिमा तीन महिना कुनै पनि पदमा निर्वाचित हुन, नियुक्ति खान र मनोनयनका लागि अयोग्य हुने व्यवस्था छ । उक्त धाराको उपधारा (१) मा भनिएको छ, ‘यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक निर्वाचन,मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित,मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन । तर, विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तिमा तीन महिनाको अवधि व्यतित भएपछि त्यस्तो पदमा निर्वाचित,मनोनीत वा नियुक्त गर्न बाधा पर्ने छैन ।’

नागरिकता लिएको मितिदेखि उम्मेदवारी दर्तासम्मको दिन गणना गर्दा ६५ दिनमात्रै हुन्छ ।

लामिछानेले सर्वोच्च अदालतको फैसलापछि माघ १५ गते नयाँ नागरिकता लिएका थिए । वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको समय चैत्र २० गतेका लागि तोकिएको छ । नागरिकता लिएको मितिदेखि उम्मेदवारी दर्तासम्मको दिन गणना गर्दा ६५ दिनमात्रै हुन्छ । त्यसकारण पनि लामिछाने उम्मेदवार हुन योग्य नरहने देखिन्छ ।

संविधानविद खिमलाल देवकोटाले पनि लामिछाने संविधानतः उम्मेदवारी दिन योग्य हुने बताएका छन् । नागरिकता लिएको तीन महिना पूरा नभई नियुक्ति,मनोनयन र निर्वाचनका लागि कोही पनि व्यक्ति योग्य नरहने संविधानको मर्म र भावनाको प्रतिकूल जाने छुट कसैलाई पनि नभएको उनको भनाई छ । त्यसो त लामिछानेमाथि दोहोरो राहदानी (पासपोर्ट) प्रयोग गरेको विवाद पनि छ । तर, उक्त मुद्दामा उनलाई सरकारले सफाई दिएपनि महान्यायाधिवक्ता कार्यालयविरुद्ध आजै सर्वोच्च अदालतमा मुद्धा परिसकेको छ । 

लामिछानेले सन् २०१४ मा अमेरिकी राहदानी लिएका थिए भने त्यसको अर्को वर्ष २०१५ मै नेपालबाट राहदानी बनाए । सन् २०१८ मा मात्र अमेरिकी नागरिकता परित्याग गरेका उनले करिब चार वर्ष बकाइदा दुई वटा राहदानी बोकेर विदेश यात्रा गरे । उनले दोहोरो राहदानी प्रयोग गरेको सर्वोच्च अदालतले समेत बोलिसकेको छ ।  

संविधानविद् देवकोटाले लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरिसकेको र झूठा विवरण पेस गरेर राहदानी लिएको विषय छुट्टै अनुसन्धान हुनुपर्ने पनि बताए । झूठा विवरण पेस गरी राहदानी लिनु राज्यबिरुद्धको अपराध मानिने हुँदा लामिछाने उम्मेदवारका लागि स्वत: अयोग्य हुने धेरै कानुनका जानकारहरु दाबी गर्छन् ।

टिप्पणीहरू