एउटै पासोमा झुण्डिए प्रेमिल जोडी, कारण ‘रहस्यमय’

एउटै पासोमा झुण्डिए प्रेमिल जोडी, कारण ‘रहस्यमय’ सांकेतिक तस्बिर

विराटनगरमा एक प्रेमिल जोडीले एउटै पासोमा झुण्डिएर देहत्याग गरेका छन् । आफ्नो प्रेमलाई विवाहमा परिणत गरिसकेका उनीहरु एउटै रुखको हाँगामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मोरङ्गको रंगेली नगरपालिका वडा नम्बर २ स्थित खोरिया टोलमा रहेको लिच्ची बगानमा उनीहरु मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । 

सोही ठाउँका १८ वर्षीय सञ्जय उराव र बेलबारी नगरपालिका वडा नम्बर २ की १९ वर्षीया ललिता उरावले प्रेम विवाह गरेका थिए । केटा पक्षले युवतीलाई स्वीकारसमेत गरिसकेका थिए । जात र वर्गको विषयलाई लिएर कुनै विवाद नभएको स्थानीय बताउँछन् । 

तर, शुक्रबार दिउँसो उनीहरु ईश्वरी कृषि फर्मको लिच्ची बगानमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । त्यसपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ । 

आर्थिक हिसाबाले विपन्न परिवारका उनीहरुले गत माघमा विवाह गरेका हुन् । ललिता श्रीमानसँगै घरमा बस्दै आएकी थिइन् । रंगेली नगरपालिका वडा नम्बर २ का वडा सदस्य मनबहादुर कार्कीकाअनुसार उनीहरु बिहीबार बिहानसम्म घरमै थिए । दिँउसोदेखि अचानक गायब भएपछि खोजतलास गर्ने क्रममा लिच्ची बगानमा चप्पल फेला परेको थियो । 

‘लाऊँलाऊँ, खाऊँखाऊँ भन्ने बेलामा उनीहरुमाथि के बज्रपात आइपर्यो र त्यसो गरे ? प्रहरीले यसविषयमा अनुसन्धान गरे पनि पत्ता लाग्न सकेको छैन’, उनले भने ।

टिप्पणीहरू