सुवासको 'प्रसाद २ रोक्न अदालतको आदेश

सुवासको 'प्रसाद २ रोक्न अदालतको आदेश

उच्च अदालत पाटनले यही शुक्रबारबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म १० प्रतिशत स्वामित्व रहेका निर्माताले विना अनुमति रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले प्रदर्शन रोक्न माग गर्दै रिट हालेका थिए । उक्त रिटको सुनुवाईपछि उच्चका न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले आज अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

अदालतले चलचित्र विकास बोर्डका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

त्यसअघि पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए । पाण्डेले ‘प्रसाद २’ का निर्माता सुवास थापाले फिल्ममा सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरे पनि आफ्नो पैसा र स्वामित्व पनि नदिएको दाबी गरेका छन् ।

पाण्डेका अनुसार निर्माता थापाले उनको ६२ लाख ५० हजारसहित फिल्मका प्राविधिकको ११ लाख, सुटिङ गरेको ल्वाङगाउँका स्थानीयको १७ लाखलगायत रुपैंयाँ अझैसम्म दिएका छैनन् ।

सोमबार चलचित्र विकास बोर्डमा भएको सरोकारवालाको बैठकमा फिल्म रिलिजका लागि सहमति दिने निर्णय गरे पनि बैठकमा रहेका पाण्डेले सहमति पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

 

टिप्पणीहरू