एनआरएनको मुद्दा अदालतमा दर्ता

एनआरएनको मुद्दा अदालतमा दर्ता

एनआरएनए युके अध्यक्ष पदबाट आफूलाई विधानविपरीत बर्खास्त गरिएको भन्दै प्रेम गाहामगरले केन्द्रीय अध्यक्ष कुल आचार्यसहित एनआरएनए आइसीसीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् । बेलायतका निर्वाचित अध्यक्षलाई १३ सेप्टेम्बरमा पत्र पठाएर बर्खास्त गरिएको जिकिरसहित गाहामगरले एनआरएनए अध्यक्ष कुल आचार्य, कार्यकारी अध्यक्ष रविना थापा, अर्का अध्यक्ष बद्रि केसी, महासचिवद्वय डा. केशव पौडेल र गौरीराज जोशी तथा एनआरएनए आइसीसीलाई विपक्षी बनाई मुद्दा हालेका हुन् । उनले गत ५ मार्चमा नेपाल आएर मुद्दा हालेका हुन् । 

आफ्नो पद पुनर्वहाली गर्न गाहामगरको माग छ । गाहामगरले राष्ट्रिय समिति बेलायतको पब्लिक फण्डबाट संकलित झण्डै ४० हजार पाउण्ड केन्द्रले खाएको, आर्थिक अनियमितता गरेको, अध्यक्ष आचार्यको निर्देशनमा महासचिवद्धयले नक्कली प्रतिवेदन बनाएर आफूलाई अपमानित एवं समाजमा भ्रम फैलाएको एवं बेलायतको एकत्रित समाजलाई भाँडेको जिकिर गरेका छन् । 

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सरोजकृष्ण घिमिरे, रामेश्वर न्यौपाने र रोशनी पौडेलले बहस गरेपछि उच्च अदालत पाटनले फागुन २३ मा विपक्षीका नाममा उत्प्रेषण परमादेश जारी गर्दै निवेदक गाहामगरको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने ? १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । 
 

टिप्पणीहरू