उत्तर प्रदेशका मुख्यमन्त्रीले नेपालमा राजा मागेपछि विप्लव आगो

उत्तर प्रदेशका मुख्यमन्त्रीले नेपालमा राजा मागेपछि विप्लव आगो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

आदित्यनाथले चैत २० गते विश्वहिन्दु सम्मेलनमा नेपालमा राजतन्त्र र हिन्दुधर्म हुनुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले सार्वभौम राष्ट्रको राजनीतिक स्वतन्त्रतामाथि हस्तक्षेप हुनेगरी आफ्नो भनाई राखेपछि विप्लवले विज्ञप्ति निकालेर आपत्ति प्रकट गरेका हुन् । 

नेपालको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता र जनभावनामाथि भारतले ठाडो हस्तक्षेप गरेको भन्दै उनले त्यसप्रति निन्दा र भर्त्सना गरेका छन् । मुलुकको राजनीतिक व्यवस्था र धर्मबारे निर्णय लिने अधिकार पूर्णतः नेपाली जनतालाई भएको विप्लवको भनाइ छ । 

‘नेपालमा कस्तो राजनीतिक व्यवस्था हुने र बनाउने साथै धर्म मान्ने कि नमान्ने भन्ने अधिकार पूर्णतः नेपाली जनतामा छ । यतिबेला नेपालमा दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था असफल भएको सत्य हो’, जारी विज्ञप्तिमा भनिएको छ,‘तर यो व्यवस्था पनि नेपाली जनताको छनोटबाट स्थापित नभई नयाँ जनवाद–वैज्ञानिक समाजवादलाई रोक्नका लागि भारत, अमेरिकालगायतको निर्देशनमा लादिएको व्यवस्था हो । यसको विकल्प र समाधान राजतन्त्र हुन सक्दैन् ।’

त्यस्तै, संसदीय व्यवस्थामा देखिएको संकटको निकास र विकल्प जनवादी गणतन्त्र या वैज्ञानिक समाजवादी व्यवस्था मात्र हुन सक्ने विप्लवको दाबी छ । 

नेपाललाई अस्थिर राजनीतिको भूमरीमा पुरेर प्रगतिशील एवम् अग्रगामी शक्तिहरुलाई कमजोर पार्न, अग्रगामी निकासलाई भाँड्न, दलालहरुको थुप्रो लगाउन विभिन्न मुलुकहरु लागिपरेको महासचिव विप्लवको आरोप छ । उनले यस्ता षड्यन्त्रबाट समयमै सचेत रहन सुसूचित गराएका छन् ।
 

टिप्पणीहरू