संसद भवन छिर्न खोजेका मीटरब्याज पीडितलाई बाहिरै नाटक देखाइयो
साहुकारविरुद्ध काठमाडौँ आन्दोलनरत मीटरब्याज पीडितहरुले संघीय संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।
संघीय सरकारलाई खबरदारी गर्न मधेश प्रदेशलगायत देशका विभिन्न ठाउँबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका उनीहरुले आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर बानेश्वर पुगेका पीडितहरुले मीटरव्याजीविरुद्ध नारावाजी गरेका थिए ।
त्यसक्रममा उनीहरुले 'उच्च स्तरीय न्यायिक आयोग गठन गर', 'मीटरब्याजी ठगलाई पक्राउ गरि कारवाही गर', 'सबै दलालहरुलाई गिरफ्तार गरी कानुन बमोजिम कारवाही गर', 'नि:शुल्क स्वास्थ्यको व्यवस्था गर', लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
तर, पीडितहरु संसद भवनतर्फ जान खोज्दा केहीबेर त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेपछि झडपको अवस्था निम्तिएको हो । उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको बताइएको छ ।
आफूहरुमाथि प्रहरीले बल प्रयोग गरेको र केही प्रदर्शनकारी घाइते भएको पीडितहरुले बताएका छन् ।
अहिले अवस्था सामान्य भैसकेको छ । निषेधित क्षेत्र नजिकै शिल्पी थिएटरका कलाकारहरुले सडक नाटक प्रस्तुत गरेका छन् । उनीहरुले मीटरब्याज पीडितको विषयमा प्रस्तुती दिएका हुन् ।

टिप्पणीहरू