दारुले दनक दिनासाथ, फौजी झगडा सुचारु

दारुले दनक दिनासाथ, फौजी झगडा सुचारु

‘दारु’ ले दनक दिँदा दही–मोही खानेलाई दुःख ! कपिलवस्तुका एसपी र सिडिओहरू यस्तै लफडामा परेका छन् । तीनथरि एसपी छेउछाउमा थिए । साँझको खानपिन चल्दाचल्दै डाङडाङ र डुङ्डुङ शुरु भयो । अनि, सिडिओ आफ्नै टाउको समाउँदै कराउन थाले, ‘लौ न नि, अब म के गरौँ ?’ कृष्णनगरका भन्सार प्रमुख गगन बिकेले आफ्नो मेसमा खान बोलाएका थिए । खानाअघि चल्नेलाई ‘दारु’, नचल्नेलाई अर्थोकै थियो । त्यसमध्ये प्रहरीका एसपी प्रेम बस्नेत, सशस्त्रका जीवन केसी र राष्ट्रिय अनुसन्धानका नरेन्द्र गिरीले मस्तैसँग पिए । तर, सिडिओ शंकरहरि आचार्य कहिल्यै नपिउने । पिउँदापिउँदै तीन एसपीबीच विभिन्न विषयमा भनाभन शुरु भयो । त्यसक्रममा राअका नरेन्द्रले सशस्त्रका जीवनको ढाडमा एक मुड्की हिर्काए । यो देखेर प्रहरीका एसपी तात्तिए, ‘साले, मेरो ज्वाइँलाई हान्छस्...’ भन्दै ।

नरेन्द्रले भने, ‘के गर्छस्...’, अनि जीवनले नरेन्द्रको कठालो समाते । सिडिओ तीनैजनालाई सम्झाउँदै थिए, ‘नगर न केटा हो नगर’ भन्दै । तर, ‘केटा’ हरू झन्झन् तात्तिन थाले ! कसैले कसैलाई सम्हाल्न नसक्ने भएपछि सोझा सिडिओ शंकर पुर्पुरोमा हात राखेर रुन थाले, ‘लौ न म के रौँ...!’ जसोतसो भन्सार प्रमुख गगनले रात छिप्पिँदै गएपछि झगडालाई सामसुम पारे । उता, सशस्त्र प्रहरीका ४५ वटा बोर्डर आउट पोष्ट (बिओपी) मा डिएसपी खटिएका छन् । यसअघि इन्स्पेक्टरले चलाउने ती पोष्टमा डिएसपी गएपछि त्यसको कमाण्डर उनीहरू आफैँ हुने भएका छन् ।

इन्स्पेक्टर खटिँदा बिओपीको कमाण्ड गणले हेथ्र्यो । त्यसअनुसार, पर्सा जिल्लामा मात्रै पाँच ठाउँमा डिएसपी र त्यसपछि गणपति हुने भए । नत्र, गुल्मबाहेक डिएसपीलाई कमाण्ड दिने ठाउँ निकै कम थिए । उता, विभिन्न सीमाबाट तानिएको एसपीहरू काठमाडौंमा कारवाहीमा परेनन्, बरु आरामसँग फाँट चलाएर जागिर खाइरहेका छन् । पर्साबाट तेज पोखरेल, नवलपरासीका रुपकुमार क्षेत्री, बाराका राजेन्द्र थापालाई तानेर हेडक्वार्टर ल्याइयो । तर, शाखा र फाँट प्रमुख भएर काम गरिरहेका छन् । यतिसम्मकि ‘व्यारेक बेचुवा’ भनिएकालाई पनि केही गरिएको छैन ।

त्यस्तै, सशस्त्र डिआइजीको कार्यकाल चार वर्षमा एक थप्नेलाई पाँचै बनाउने भनेर समितिको बैठक बसिरहेको छ । उता, कोशी प्रदेश नामाकरणको विरोधका क्रममा ज्यान गुमाएका व्यक्तिको हत्या कसरी भयो भन्नेबारे छानबिन गर्ने समितिमा सशस्त्रले एसपी राजेश उप्रेतीलाई खटाएको छ ।
 

टिप्पणीहरू