चित्रबहादुरको चिन्ता - मेरो हस्ताक्षर दुरुपयोग गरियो

चित्रबहादुरको चिन्ता - मेरो हस्ताक्षर दुरुपयोग गरियो

सत्तारुढ गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूले हस्ताक्षर नगरेको बताएका छन् । 

सत्तारुढ गठबन्धनले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा जनमोर्चाको सहमति नरहेको र त्यसमा आफूले हस्ताक्षर नगरेको केसीले दाबी गरे । साझा कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर राखेको भन्दै उनले त्यसप्रति आपत्तिसमेत जनाएका छन् । 

आज विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री कार्यालयबाट डिजिटल हस्ताक्षरको विषयमा संवाद भएपनि त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा कुरा नभएको उल्लेख गरेका छन् । 

‘प्रधानमन्त्री कार्यालयबाट अध्यक्ष चित्रबहादुर केसीको डिजिटल हस्ताक्षर कता राखिएको भन्ने सन्दर्भमा प्रधानमन्त्री र अध्यक्ष चित्रबहादुर केसीबीच संवाद भएको सत्य हो’, जारी विज्ञप्तिमा भनिएको छ,‘तर, त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन् । त्यसैले अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर भ्रमबस नै न्यूनतम साझा कार्यक्रममा परेको कुरा सम्बद्ध सबैलाई जानकारी गराउदँछु ।’

साझा कार्यक्रममा उल्लेख भएका संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकतालगायतका विषयमा जनमोर्चाको केयौं मतभेद रहेको उनको भनाइ छ ।

संक्रमणकालीन न्यायसंग सम्बन्धित ऐनलाई परिमार्जन गर्न र  नागरिकता विधेयकमा भएका राष्ट्रघाती प्रावधानविरुद्ध जनमोर्चा लामो समयदेखि प्रयासरत रहेको जानकारी गराउँदै उनले साझा कार्यक्रममा हस्ताक्षर नगर्ने नीति कायम रहेको प्रष्ट पारेका छन् ।
 

टिप्पणीहरू