मेरो कार्यकालभित्र शान्ति प्रक्रिया पूरा हुन्छ : प्रधानमन्त्री

मेरो कार्यकालभित्र शान्ति प्रक्रिया पूरा हुन्छ : प्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  शान्ति प्रक्रियाका बाँकी काम आगामी दुई वर्षभित्र पूरा हुने बताउनुभएको छ । पार्टीको गोरखा जिल्ला कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।

आफू नेतृत्वको १० दलीय गठबन्धनमा आगामी दुई वर्षभित्र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने सहमति भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । उहाले भन्नुभयो, ‘हामी छिट्टै सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्याउनेछौँ ।’

सरकारले एक सय दिनमा सामाजिक न्याय, सुशासन र विकासका थुप्रै काम थालेको पनि उहाँको भनाइ छ । छोटो समायमा मुलुक र जनतालाई सकारात्मक दिशा दिने अवसर प्राप्त भएको प्रधानमन्त्रीले बताउनुभयो ।

‘सवारी चालक अनुमति पत्र, राहदानी र अन्य केही सेवामा गरिएको सुधारका साथै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षासँग जोड्ने कुराको थालनी भएको छ,’ प्रधानमन्त्रीले आफ्ना एक सय दिनको उपलब्धीको चर्चा गर्दै उल्लेख गर्नुभयो ।

सरकारले हिजो सार्वजनिक गरेको गठबन्धन दलका न्यूनतम साझा नीति तथा कार्यक्रममा एमालेसँग पहिले मिलेर बनाइको नीति तथा कार्यक्रमलाई समेत समेटिएको प्रधानमन्त्रीको दाबी छ । तर हिजो अपरान्ह सिंहदरबारमा उक्त कार्यक्रमपछि बोल्दै प्रधानमन्त्रीले एमालेसँग मिलेर गत पुसमा जारी गरेको नीति तथा कार्यक्रमलाई सबै किसिमले परिमार्जन गरेको बताउनुभएको थियो ।

टिप्पणीहरू