धनगढी जानुभएका प्रचण्ड नास्ता खान एमाले नेताको घरमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टसँग भेटघाट गर्नुभएको छ ।
कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा अवतरण भएलगत्तै कैलालीस्थित गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको भट्टको घरमा पुगेर उहाँले भेट गर्नुभएको हो ।
भट्टको निवासमा चिया नास्ता गरेर प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा सहभागी हुन जानुभएको छ ।
प्रचण्ड र भट्टबीच चालिस वर्ष लामो राजनीतिक र व्यक्तिगत सम्बन्ध रहेको छ । तर, तत्कालीन नेकपाको विभाजनपछि एमालेतिर लागेका भट्टको पछिल्लो समय माओवादी केन्द्र र प्रचण्डसंग सम्बन्ध चिसिएको बताइएको थियो ।
भट्ट एमाले सुदूरपश्चिम इन्चार्ज हुन् । उनी माओवादीमा फर्किने तयारीमा रहेको चर्चा छ । भट्टले भने यसबारे अहिले केही नसोचेको बताएका छन् । प्रचण्डसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको र धनगढी आएका बेला भेटघाट भएको उनले बताए ।
टिप्पणीहरू