एमाले युवा संघमा महाधिवेशन अगाडि रमाइलो तानातान

एमाले युवा संघमा महाधिवेशन अगाडि रमाइलो तानातान

एमाले निकट युवा संघले १० वर्षपछि महाअधिवेशन गर्न लागेको छ । महाधिवेशन उद्घाटन भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जमा गर्ने कार्यक्रम छ । तर, त्यसअघि नै महेश बस्नेतहरुले गोजीको मान्छेलाई टीका लगाउन खोजेको भन्दै भाँडभैलो शुरु भएको छ । 

महेश बस्नेतको निजी कम्पनीको रुपमा रुपान्तरण हुँदै गएको युवासंघमा यसपटक उपाध्यक्ष सुवास नेम्वाङ निकट क्षितिज थेवेलाई अध्यक्ष र बालकोट निकट सुमन पुरीलाई महासचिवमा टीका लगाउन खोजिएपछि कार्यकर्ताहरु आक्रोशित देखिन्छन् । १० वर्षदेखि महाधिवेशन हुन नसक्दा कुनै समयको जल्दोबल्दो संगठन पछिल्लो समय भुत्ते बन्दै गएको उनीहरुको भनाइ छ । 

गोजीबाट निकालिएको सूचीको आधारमा नेतृत्व चयन गरेपछि संगठनमा खिया लागेको असन्तुष्टहरु बताउँछन् । विधानबमोजिम हरेक तीन वर्षमा महाधिवेशन गर्नुपर्छ । तर एक दशकपछि हुन लागेको महाधिवेशनसम्म आइपुग्दा नौ जना  अध्यक्ष भइसकेका छन् । 

यसअघि २०६९ फागुन १८ गते बुटवलमा भएको आठौं महाधिवेशनमा दोस्रो पटक अध्यक्ष भएका बस्नेतले आफूपछि निरु पाललाई कार्यवाहक अध्यक्ष सुम्पेका थिए । सोही समयदेखि संघ र नेतृत्व चर्काे विवादको भुमरीमा परेको  हो ।

निरुपछि राजीव पहारीलाई महाअधिवेशन आयोजक कमिटी अध्यक्ष बनाइयो । लगत्तै उनलाई हटाएर रमेश पौडेललाई टीका लगाइयो । पौडेल आयोजक कमिटीको अध्यक्ष बने तर गोजीका आयोजक उनलाई महाधिवेशन गर्न महेशले नै रोकिदिएको त्यतिबेलै संघका नेताहरुबीच चर्चाको विषय बनेको थियो ।

बालकोट र महेश स्वयम् रमेशलाई हटाएर किरणलाई अध्यक्ष बनाउन चाहन्थे तर एमाले–माओवादी एकता हुँदा रामप्रसाद सापकोटा ‘दिपशिखा’ लाई अध्यक्ष र रमेशलाई सहअध्यक्ष बनाइयो । यसरी एक दशकदेखि बस्नेत हावी हुँदै आएको संघमा व्यक्तिवादी प्रवृत्ति मौलाएको र संगठनमा अराजकता बढेको भन्दै केही युवाले महाधिवेशनको माग गरिरहे । 

दुई वर्षअघि सर्वोच्च अदालतको आदेशबाट एमाले र माओवादी अलग अलग पार्टीको रुपमा देखापरेपछि बस्नेतले रमेशलाई हटाएर किरण पौडेललाई अध्यक्ष बनाउन खोज्दा लफडा भएको थियो । तर पार्टी अध्यक्ष ओलीले पौडेललाई अध्यक्षको जिम्मेवारी दिएपछि बस्नेत चुपचाप संघको राजनीतिबाट बाहिरिए । जबकि किरण पौडेल महेश उद्योगमन्त्री हुँदा स्वकीय सचिव थिए । 

महेशले किरण पौडेललाई महाधिवेशन नगरी नेतृत्वमा अघि सारेपछि संघभित्र रमेश समूहले विद्रोह गर्ने चेतावनी दिएको कारण बस्नेत आफैं बाहिरिनु परेको संघका असन्तुष्ट एक नेताले जनआस्थालाई बताए । उनले भने, ‘बस्नेत जुन प्रक्रियाबाट युवा संघमा आएका थिए त्यही प्रक्रिया अहिले लागु छैन । यो उमेर हद तोकिएको संगठन हो । तर यहाँ महेश दाहिना हुँदासम्म कोही कसैलाई उमेरको मतलब छैन ।’

पार्टी एकीकरण भंग भएपछि पुनः पौडेल अध्यक्ष बने तर महेशले संगठन चलाउने क्रममा निरन्तर समस्या खडा गरिरहे । सोही क्रममा रमेशलाई बैठक बोलाउन लगाइयो तर एकाएक हटाएर वचन सिंहलाई आयोजक कमिटीको अध्यक्ष बनाइयो । उक्त बैठकमा तीब्र विवाद र हात हालाहालको स्थिति भएको भिडियो फुटेज नै बाहिरिएको थियो । 

तत्कालीन उपाध्यक्ष रोशन बस्नेतलगायतले महाधिवेशनबाट नेतृत्व परीक्षण भएर आउनुपर्ने अडान राखेका थिए । तर हरेक बैठकमा महेश बस्नेतले  युवराज घोषणा गरेर अध्यक्ष बनाउने प्रचलन बेठिक रहेको भन्दै उनले बैठक बहिष्कार गरेका थिए । त्यति हुँदा पनि वचन सचिवबाटै एकाएक अध्यक्ष भएका थिए । 

सिंहलाई पनि तीन महिनामै राजीनामा दिन लगाएर किरण पौडेललाई बैठकबाट अध्यक्ष घोषणा गरियो । यद्यपि विवाद साम्य भएन उल्टै महेशले आफूलाई  संकटमा साथ दिएका नेताहरुलाई एकपछि अर्को हिसाबले गुमाउँदै गए ।

किरण पौडेल पछिल्लो पटक अध्यक्ष भएपछि पनि विवाद साम्य भएको देखिएन । उनले बैठक कहिल्यै बोलाउने आवश्यकता नै महशुस गरेनन् । महाधिवेशन प्रतिनिधि छान्ने बैठक समेत नबोलाई प्रतिनिधि छनौट गरेको लिखित उजुरी पार्टीमा पर्यो । उजुरी तत्कालीन उपाध्यक्ष रोशन बस्नेतले हालेका थिए ।

यसरी निकै पछि सकसपूर्ण ढंगले बसेको पोखराको बैठक सोचेकोभन्दा बढी विवादमा परेको थियो । महेशले महाधिवेशनबाट निर्वाचितलगायत धेरै केन्द्रीय सदस्यलाई बैठकको कोरम नै नपुर्याइ हटाएदिए । रोशन बस्नेत, अमित लामा, उर्मिला सुनुवारको नेतृत्वमा ठूलो संख्याले बैठक बहिष्कार गरेर पार्टी  अध्यक्षलाई लिखित उजुरी दिएका थिए । अध्यक्ष केपी शर्मा ओलीले संगठन विभाग प्रमुखको नेतृत्वमा छानबिन गरेर तत्काल महेश बस्नेत लगायतलाई कार्बाही गर्न उजुरीमा तोक लगाएर छानबिन आयोग बनाउन निर्देशन दिनुभएको थियो । 

संगठन विभागको छानबिनले महेशलाई कारबाही सिफारिस गरेपछि उनले बालकोटमा गरेको रोइकराईपछि कारबाही रोकिएको संघका नेताहरु अहिले पनि बताउँछन् । पोखरा बैठक अवैधानिक भएको पार्टी महासचिवको लिखित निर्देशनपछि महेशले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई हटाउनुपर्ने माग गर्दै फेसबुकमा स्ट्याटस नै लेखे ।

यस्तै किरण पौडेल केन्द्रीय सदस्यमा मनोनयन भएपछि ९औँ महाधिवेशन गरेर नेतृत्व जिम्मा लगाउनु पर्ने आवश्यकता उत्पन्न भयो । तर महाधिवेशन हुन नदिने अवस्था आएपछि पार्टीले चैत्र मसान्तसम्म नगरे सबै कमिटी भंग गर्ने बाध्यकारी निर्देशन दिएपछि भोलि बिहान महाधिवेशन उद्घाटन हुन लागेको हो । अहिले पनि महेशले आफैँ अध्यक्ष झैँ देश दौडाहा गरेर आफू इतरकालाई नेतृत्वमा पुग्नबाट बाधा पुर्याउन खोजेको असन्तुष्ट युवाहरुको आरोप छ । 

२०६९ सालमा इन्द्रलाल सापकोटा अध्यक्षमा चुनाव लड्दाउनको उमेर ३९ वर्ष ११ महिना २९ दिन मात्रै थियो । उक्त उमेर युवा संघमा तोकिएको हदभित्रैको थियो । तर पछि ४० वर्ष ११ महिना २९ दिनको उमेद हद महेशले तोकिदिएको असन्तुष्टहरुको आरोप छ । जबकी पाल अध्यक्ष हुने बेलामा ती सबै मान्यता तोडिएको पनि उनीहरुले बताएका छन् । 

‘जनवर्गीय संगठनमध्ये पार्टीलाई सबैभन्दा बढी समस्या खडा गर्ने संगठन नै युवा संघ भएको छ,’ संघभित्रको भाँडभैलोबारे कुरा गर्दै एमालेका एक नेताले उल्लेख गरे ।

टिप्पणीहरू