रविका सांसदको संवाद अडियो अध्ययन गर्न र शरणार्थीका नाममा करोडौँ कुम्ल्याउनेलाई नछोड्न माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको टेलिफोन संवादको अडियो रेकर्डबारे अध्ययन गर्न संसदीय समिति गठनको माग गरिएको छ । 

आज बसेको प्रतिनिधिसभा बैठकमा काँग्रेसका सांसद धनराज गुरुङले सार्वजनिक अडियोमा कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएकाले यसबारे अध्ययन र छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् । 

‘उक्त टेलिफोन संवादमा कोर टिमलाई दुई करोड बुझाउनुपर्ने बताइएको छ । त्यो कोर टिम भनेको को हो ? यसबारे छानबिन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि आजकै बैठकले संसदीय समिति गठन गरियोस् ।’ 

रास्वपा सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै रकमका लागि मेडिकल बिचौलिया दुर्गा प्रसाईं मार्सीसँग याचना गरेको अडियो हिजो सार्वजनिक भएको थियो । उक्त अडियो बाहिर आएलगत्तै रास्वपाले सांसद श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गर्दै स्पष्टीकरण सोधेको छ । 

आजको संसद बैठकमा सांसद गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर करोडौँ कुम्ल्याउने गिरोहबारे पनि छानबिन गर्नुपर्ने बताए । यस कार्यमा जो सुकै भएपनि कारबाही गर्नुपर्ने उनको माग छ ।

उक्त प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, एमाले सांसद टोपबहादुर रायमाझीलगायत राजनीतिक दलका नेताहरुको संलग्नता रहेको दाबी गरिएको छ ।

टिप्पणीहरू