स्टन्टबाजीको अन्तिम परिणाम– सर्भर डाउन !
स्वर्णिम वाग्लेले कांग्रेस छाडे । त्यो कुनै ठूलो कुरा भएन । प्रमुख प्रश्नचाहिँ उनीजस्ता प्रखर विद्वान् किन र कसरी उनकै शब्दमा त्यस्तो संकीर्ण, गुटे, स्वार्थी, लोभी, नीतिहीन, उद्देश्यहीन र गन्तव्यहीन पार्टीमा बसे भन्ने मात्रै हो ? इतिहास ठूलो र गर्विलो भएको कांग्रेस पार्टीलाई ‘जोइपोइ’ले ‘दाइ–भाउजू’को प्राइभेट कम्पनी बनाएछन् भन्ने कुरा बल्ल उनले चाल पाएछन् । तापनि, त्यस्तो कम्पनीमा वाग्लेजस्ता अर्थशास्त्री कसरी यतिसम्म टिके ? आफ्नै प्रयास, बुद्धि, विवेक, ज्ञान, सीप र दक्षताले धेरै गर्न सक्ने वाग्लेहरूले कांग्रेसमा बसेर एकाबिहानै बूढानीलकण्ठमा ‘जयनेपाल दाइ’ भन्दै धनुष्टंकार किन गर्ने ? देउवा दाइ आफ्नो गुट र सत्ता स्वार्थदेखि बाहिर कहिल्यै आएनन्, आउँदैनन् ।
आफूलाई दूधले नुहाएजस्तो चोखो भन्ठान्ने रवि लामिछाने ६ महिनामै ‘नेता’मा रूपान्तरित भए । आफूले तयार गरेको सहयोगी समूहलाई ‘पार्टी’मा रूपान्तरित गरेका रवि भँगेरे छाती भएका संकीर्ण सोचका मान्छे हुन् भन्ने फेरि पुष्टि भयो । पार्टी भनेको पनि आफू । आफू भनेकै पार्टी । आफू भए गृहमन्त्री । आफू भए सत्ता । नत्र सबै आउट । आफू सत्तामा नगए अरुलाई किन दिने ? उनको भँगेरे सोचले कांग्रेसका देउवा दाइको जस्तै साँघुरो चिन्तन देखायो । चोखो पार्टी भन्दै एक वर्षमै ‘नेता घोषित’ भएका रविका सहयोगीहरूले पनि स्वर्णिमले कांग्रेस छाडेजस्तै छाड्नेछन् । रविले आफूलाई स्वाद पार्न मात्र पार्टी बनाए । मण्डलीलाई पद बाँडेर ‘केन्द्रीय समिति’को नाम दिए । उनको समितिका मान्छेले विगतमा रवीन्द्र मिश्रले खोलेको संगठनजस्तै आफूसँगै सबैको भविष्य सखाप पार्दै छन् ।
अर्कालाई गाली गर्नु मात्र धर्म ठान्ने रविले निर्वाचन आयोगमा दर्ता गर्नुलाई नै पार्टी बनाउने ‘सम्पूर्ण आधार’ ठाने । कुनै पनि ऐतिहासिक, राजनीतिक, वैचारिक, सांगठनिक, दार्शनिक आधार तथा प्रष्टता नभएको ‘ग्याङ’ एउटा क्लबजस्तो मात्र बन्ने हो । रविले हाहाहुहुमा चुनाव जिते । केही नगरी ‘फोस्सामा शक्ति’ पाए । तर उनको राजनीतिक, वैचारिक र साँगठानिक केही आधार थिएन, छैन । नो नट अगेन भन्ने नारा उचालेर युवालाई भ्रष्ट र भ्रमित पारेका रवि जसरी उदाए त्योभन्दा छिटो ओरालो लाग्दै छन् । पासपोर्ट काण्डसँग सत्ताको भीख मागेका रविको वैचारिक साख ध्वस्त भएको छ । यद्यपि, उनी आफूलाई पानीमाथिको ओभानो देखाउन खोज्दै छन् ।
राजनीतिमा पानी धमिलो भएको बेला माछा छोप्न मात्र दलीय राजनीतिमा हामफालेका रवि पानी सङ्लो हुँदै जाने र माछा नपाउने भएपछि राजनीतिबाट पूरै बाहिर हुत्तिने पक्का छ । मुखमा नौनी हालेजस्तो गरी जनताका नाममा चिल्ला कुरा गर्नेको छातीचाहिँ भँगेराको भन्दा पनि सानो र साँघुरो रहेछ भन्ने देखिएकै छ । सत्तास्वार्थमा कांग्रेस र अस्थीर प्रचण्डलाई पनि उनले माथ गरेका छन् । खानका लागि जोसुकैसँग सत्तासमीकण गर्ने मधेसी दलभन्दा पनि चुत्थो प्रमाणित भएका छन् ।
आफ्नै कारणले सत्ताबाट बाहिर भएपछि सहयोगी सबैलाई पदमुक्त गराए । यस्ता पात्रले देश, जनता, आम नागरिक र सबैको हितको कुरा गर्न सुहाउँछ ? च्वाँच्वाँच्वा गरेर सत्ता र सत्ताको असक्षम कार्यशैलीको विरोधमा त्यतिबेला टिभीबाट चिच्याउनु र आफैँ सत्तामा बसेर कार्य गर्नुमा ठूलो अन्तर हुन्छ । गृहमन्त्री भए पनि प्रहरीलाई उनले लेखेको पत्र धोती लाग्यो । प्रहरीले आदेश टेरेन भने उनी गृहमन्त्री हुनुको के अर्थ भयो ? कार्यक्षेत्रबाहिरको राहदानी विभागमा गएर ‘छिटो’ काम गर्न अर्ति दिँदै ‘हिरो बन्न’ खोजेपछि कर्मचारले ‘सर्भर डाउन भयो’ भन्दै एक हप्ता काम बन्द गरिदिए । खेतमा खुरुखुरु जोतिरहेको गोरुलाई पनि दौडाउन खोज्दै लाठी हानियो भने थचक्क बस्छ । त्यहाँ त्यस्तै भयो । त्यसले सेवाग्राहीलाई झन् दुःख भयो । यस्ता ‘स्टन्टवाज’ चटके मात्र हुन् । आफू पदबाट बाहिरिँदा कतिलाई कस्तो गाली गरे ? आफू गैरकानुनी कार्य गर्ने, ठाउँपिच्छे पत्नी बटुल्ने, देशैपिच्छे पासपोर्ट बनाउने । अनि अदालती फैसलाबाट पद चट हुँदाचाहिँ अर्कालाई नानाथरी गाली र आरोप किन लगाउनुपर्ने ?
उनले चुनाव जिते फेरि उनको समूह सरकारमा सहभागी हुने कि नहुने ? गृहमन्त्रीमा विगतको अडान के हुने ? पासपोर्टका मुद्दा ज्यूँदै छन् । ज्यानमा सरदर मान्छे देखिए पनि बूढानीलकण्ठका शेरबहादुर दाइभन्दा सानो चित्तका रविले भविष्यमा कतिलाई रुवाउने हुन्, त्यो पछि देखिनेछ । देउवाका कारण स्वर्णिम बाहिरिएजस्तै रविको भँगेरे छातीका कारण उनको समूहबाट कति स्वर्णिम बाहिरिने हुन्, पछि प्रष्ट हुँदै जानेछ । अनावश्यक स्टन्टबाजी गर्दा कर्मचारीले सर्भर डाउन भयो भनेर काम बन्द गरेजस्तै रविमा सत्ता सञ्चालनको कुनै पनि ल्याकत छैन भन्ने कुरा यसअघि नै प्रमाणित भइसक्यो । अब फेरि केको फूर्ति ?
टिप्पणीहरू