बाराको उपनिर्वाचनमा बाजी मार्ने सबैको दाबी
गत मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी (जसपा) बाट चुनाव जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपचुनाव हुँदैछ । जसपा, नेपाली काँग्रेस र एमालेको प्रभाव क्षेत्र मानिने यस क्षेत्रलाई प्रतिष्ठाको विषय बनाएका उम्मेदवार र राजनीतिक दलहरु चुनाव प्रचार प्रसारमा होमिएका छन् ।
उपचुनावको परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारसँगै पार्टीहरुले आफ्ना गतिविधि तीब्र पारेका छन् । टोल भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेतखेतमा पुगरे मत माग्ने क्रम बढेको छ ।
दलहरुले निर्वाचनलाई पार्टीको प्रतिष्ठाको विषय बनाएको यस क्षेत्र अन्तर्गतको करैयामाई निवासी पूर्वजनप्रतिनिधि रामएकवाल चौधरीको भनाइ छ । उनका अनुसार जसपा, एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टीले निर्वाचन केन्द्रित प्रचार अभियानलाई तीब्र पार्दै लगेका छन ।
गत आमनिर्वाचनमा पार्टीहरुले पाएको मत विश्लेषण गर्दा यहाँ जसपा र एमालेका उम्मेदवारबीच तीब्र प्रतिष्पर्धा हुने देखिन्छ । त्यस्तै मधेसमा उदाउँदै गरेको जनमत पार्टीका उम्मेदवार पनि बलिया प्रतिष्पर्धी ठानिएका छन् ।
जसपाले सत्ता गठबन्धनका काँग्रेस, माओवादी र समाजवादीको सहयोगमा अध्यक्ष उपेन्द्र यादवलाई नै उम्मेदवार बनाएको छ । यसअघि जसपाल नै जितेको क्षेत्र र ठूला दलहरुको समर्थन पाएकाले यसपटक यादवले नै जित्ने धेरैले अनुमान गरेका छन् ।
यस क्षेत्रमा काँग्रेस बलियो शक्ति मानिएकाले गठबन्धनमा घाचघुच नभए यादवको जीत लगभग निश्चित रहेको यहाँका स्थानीय बताउँछन् । तर, काँग्रेसका मतदाताले छातामा सर्लक्कै भोट हाल्नेमा जसपाका नेताहरु ढुक्क भने छैनन् ।
एमालेले पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई मैदानमा उतारेको छ । एमाले पोलिटब्युरो सदस्य एवम् मधेश प्रदेश सहइञ्चार्ज रहेका उनलाई पनि बलियो प्रतिस्पर्धी मानिएको छ । पौडेलको यस क्षेत्रमा आफ्नै खालको क्रेज छ ।
२०४८ र २०५६ मा आफूले जितेको क्षेत्र भएकाले एमालेले बलियो ठान्दै आएको छ । पौडेललाई चुनावी अभियानलाई ऊर्जा दिन गत २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली बारा पुग्नुभएको थियो । ओलीको आगमनपछि माहोल एमालेमय बन्दै गएको महागढीमाई नगरपालिका २ का सर्वजित पटेल दाबी गर्छन् ।
बारा क्षेत्र नम्बर ३ की सांसद ज्वालाकुमारी साह, क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली र एमाले नेता रघुवीर महासेठलगायत एमाले सांसदहरु पौडेललाई जिताउन २ नम्बर क्षेत्रमा अड्डा नै जमाएर बसेका छन् ।
नेकपा माओवादीका पूर्वनेता शिवचन्द्र कुशवाह हाल जनमत पार्टीका उम्मेदवार छन् । उनी पनि यस क्षेत्रका प्रभावशाली व्यक्तिका रुपमा परिचित छन् । गत मंसिरको निर्वाचनमा यस क्षेत्रमा २५४ मते रामसहायप्रसाद यादवसँग कुशवाहा पराजित भएका थिए । उनी यसपटक मंसिरको हारको बदला लिन चाहन्छन् । उनलाई कुनै हाललमा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउतसमेत सोही क्षेत्रमा खट्दै आएका छन् ।
गत निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर पराजित अरुण ज्ञवाली यसपटक प्रभु साहको आम जनता पार्टीबाट उम्मेदवार बनेका छन् । उनको अभियानलाई स्वयम् साहले अगुवाई गरिरहेका छन् ।
यता, मधेशमा कमजोर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला तीन भन्दै चुनावी माहोल बनाउँदै आएका छन् । रास्वपाले पूर्वडिआईजी रमेश खरेललाई उम्मेदवार बनाएको छ ।
टिप्पणीहरू