मन्त्री, प्रधानमन्त्री नै बिकाउ भएपछि....
उतिबेला प्रधानमन्त्री देउवाको चर्को दबावमा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जेठ १६ गते भवन निर्माणसम्बन्धी मापदण्ड फेरेर रातारात व्यापारी पोसिन्, यतिबेला जनता धरधरी रुँदै छन् ! यससम्बन्धी विस्तृत समाचार जनआस्थाले भदौ १ गते नै प्रकाशन गरिसकेको थियो, जसलाई विनोद चौधरीले अदालती आदेशको बलमा फलोअप हुनबाट रोक्न खोजेका थिए ।
यो घटना हो, ललितपुरस्थित कोपुण्डोल हाइटको । त्यहाँ कानुनी र वातावरणीय– दुबै दृष्टिले अनुपयुक्त हुँदाहुँदै चौधरी गु्रपले बनाउन चाहेको समिट रेसिडेन्सीका कारण स्थानीयवासीको रुवाबासी छ । बिना अनुमति महिनौँदेखि रातारात डोजर लगाएर निर्माणका क्रममा चैत २५ गते पाइल प्रोटेक्सन चलिरहँदा पूर्वदक्षिणतर्फ केही जमिन भासियो । त्यसले त्यहाँका ६ वटा घर र सँगै रहेको ग्रीनविच होटल कामै नलाग्ने भएका छन् । अरु थुप्रै घर हल्लिएका छन् । यस्तो घटनापछि उनका जेठा छोरा निर्वाण चौधरीहरू आइतबार पुल्चोकस्थित महानगरपालिकामा यसरी निहुरमुन्टी लाग्न पुगे कि, हात जोडेर भन्दै थिए, ‘गल्ती भयो हजुर, माफ पाऊँ, जे कारवाही गर्नुहुन्छ, व्यहोर्छौं ।’ स्थानीयहरू यति आक्रोशित थिए, कि चौधरीहरू चर्किएको भए त्यहाँ कुटाई खाने स्थिति थियो ।
डलर अर्बपति विनोद चौधरीका छोरा निर्वाण, एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र समिट समूहका अमृतरत्न शाक्यको लगानीमा त्यहाँ १६ तलाको हाइराइज अपार्टमेन्ट बनाउने तयारी छ । तर, निर्माणकार्यको प्रारम्भिक चरणमै, अर्थात् जगै उठाउन नपाई जमिन भासिएर छरछिमेकसमेत प्रभावित हुन पुगेका छन् । अपार्टमेन्टको १६ र १७ औं तलामा पेन्ट हाउस बनाई निजी गार्डेन, प्रशस्त खुला ठाउँ, विलासी सुविधा दिने योजना छ । त्यहींबाट काठमाडौं, ललितपुरका अधिकांश भाग देख्न पाइन्छ ।
२५ गते जमिन भासिएर अरु घरहरू प्रभावित हुनासाथ त्यहाँका बासिन्दा चौधरीहरूलाई ‘जिउँदै खाल्डोमा पुर्छौं’ भन्दै उत्तेजित भइरहेका थिए । समस्या जटिल भएपछि ललितपुर महानगरको टोली पुग्यो । उक्त टोली पुग्दा निर्वाण, रविभक्तका छोरा र सन्दिपहरू त्यहीँ थिए । उनीहरूले महानगरको टोलीलाई देख्नासाथ आत्मसमर्पण गरे । ‘जुनसुकै कारवाही भोग्न तयार छौँ’ भन्दै निर्वाण चौधरी घोप्टो परिरहेका थिए । तर, स्थानीय सरकार सञ्चालन ऐन हेर्दा त्यस्तो कसुरमा बढीमा पाँच लाख रुपैयाँ मात्र जरिवानाको व्यवस्था रहेछ । कानुनको यस्तै कमजोरी फेला पारेर हो सबैभन्दा बढी शेयर मूल्य भएको युनिलिभर कम्पनीका साझेदार र राजा ज्ञानेन्द्रका मन्त्री रविभक्तसहित विनोद चौधरीहरू मच्चिने गरेको ।
घर भासिएका केही बासिन्दालाई उनीहरूले आफ्नै झम्सिखेलस्थित होटल भिभान्तामा राखेका छन् । महानगरको टोलीले सोध्यो, ‘ईआइए किन नगरेको ?’ उनीहरू ‘गल्ती भयो हजुर’ भनेर हातमात्रै जोडिरहेका थिए । बुझिएअनुसार, वडा नं. १ का कांग्रेसी वडाध्यक्ष निर्मल तण्डुकारसँग उनीहरूको मिलेमतो थियो । त्यसैले त त्यसदिन छलफलका क्रममा उनी केही पनि बोलेनन् ।
क्षति कतिसम्म भयो भने, ग्रीनविच होटलको स्वीमिङ पुल छेउसम्म चर्किएको छ, जग्गा भासिएको छ र कर्मचारीलाई घर पठाइएको छ । क्षतिग्रस्त घर भाडामा बसेकाहरू विस्थापित भएकोले त्यसबाट जति भाडा उठ्थ्यो त्यो पनि उनीहरूले तिर्नुपर्ने भएको छ । महानगरले दमकल लगेर पानी ननिकालेको भए ठूलै दुर्घटना हुनसक्थ्यो ।
मुलुक बेखबर, विदेशीलाई सूचना तारन्तार
विश्वका धनीहरूको सूची जारी गर्ने अमेरिकी फोब्र्स पत्रिकाको अनलाइन संस्करणले विनोद चौधरीको सम्पत्तिको दैनिक मूल्यांकनसमेत देखाउने गरेको छ । तर, संघीय सांसद रहेका उनले आफ्नो सम्पत्तिबारे आजका दिनसम्म राज्यका कुनै पनि निकायलाई आधिकारिक जानकारी गराएका छैनन् । सम्बन्धित मुलुक बेखबर हुने तर विदेशीलाई पल पल उनको सम्पत्ति, नाफा र नोक्सानीबारे थाहा हुने यो कस्तो विडम्बना ? कोभिड महामारीको समयमा पनि उनले २० प्रतिशत नाफा गरेको बताइएको छ । तर, त्यो आम्दानी उनका कम्पनी र व्यवसायमध्ये नेपालबाट कति र विदेशमा कति भन्ने कुनै विवरण न उनले दिएका छन्, न नेपाल सरकारले नै सोधखोज गरेको छ ।
अरु अर्बपति र व्यवसायीले विदेशबाट आफ्नो देशमा लगानी ल्याउँछन् । आफूले विदेशमा गरेको लगानीको विवरण आफ्नो देशलाई दिन्छन् । नाफा भएकोमध्ये केही रकम विदेशी मुद्राको रूपमा स्वदेश लैजान्छन् । तर, हाम्रा अर्बपतिले विश्वका दुई हजार धनाढ्यभन्दा पृथक देखाउँदै देशवासीलाई आफ्नो व्यवसायबारे सामान्य जानकारी पनि दिन चाहँदैनन् ।
फोब्र्सले उनको नाफाबारे उल्लेख गर्दै भनेको छ, ‘चौधरीको आम्दानीमा सबैभन्दा धेरै अंश नबिल बैंकको योगदान छ ।’ तर, बंगलादेशस्थित आयरल्याण्डको एक डलरमा खोलिएको एनबी इन्टरनेशनल कम्पनीको नाममा ढाका पु¥याउने गरिएको दशौं लाख डलरमा कागजी रूपमा उनको अंश सामान्य देखाइएको छ । उक्त कम्पनीमा ‘हिडन पार्टनर’ अर्थात् छद्म साझेदारका रूपमा चौधरीले आफूलाई प्रस्तुत गरेर त्यहाँबाट अन्यत्र रकम लैजानेबाहेक अर्को सम्भावना नै हुुँदैन । अन्यथा, नबिल बैंकको आम्दानी उनको नेपाली सेयर लगानीकर्ताको हैसियतमा हो भने, फोब्र्सको मूल्यांकनमा पर्ने कुनै चान्स छैन । फोब्र्सले दिएको जानकारीमा भनिएको छ, ‘उनको विश्वभर १४३ वटा निजी कम्पनी छन् । त्यसमध्ये सिजी फुड्स एक हो ।’ सोही कम्पनीले वाईवाई तयारी चाउचाउ उत्पादन गर्छ । वाईवाई नेपालबाहेक भारत, सर्बिया, इजिप्ट र बंगलादेशमा पनि उत्पादन हुन्छ । सम्भवतः नेपालबाहेक अन्यत्रबाट उत्पादित चाउचाउ मात्र तेस्रो मुलुकमा निर्यात हुने गरेको चर्चा केही समयदेखि हुँदै आएको छ । यसो हुँदा उक्त आम्दानी नेपाल र नेपाली रूपैयाँमा देखिने सम्भावना हुँदैन ।
पछिल्लो समय चौधरीले होटल, आयात निर्यात व्यापार, विद्युतीय सामाग्री, दूरसञ्चार, जलविद्युत्, शिक्षा, सिमेण्ट र घरजग्गा कारोबार गर्न थालेको फोब्र्सको विवरणमा उल्लेख छ । करको मामलामा पनि चौधरी विवादास्पद छन् । कर फिर्ताको सुविधा लिइहाल्ने तर तर बुझाउन आलटाल गरेका धेरै उदाहरण छन् । उनी र उनको कम्पनीविरुद्ध राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा परेका दर्जनौं उजुरीले पनि कर तिर्ने मामलामा चौधरी अरुभन्दा कठोर रहेको पुष्टि हुन्छ ।
राज्यको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति घटेको, वैदेशिक लगानी ठप्प भएको पृष्ठभूमिमा मुलुकको हित र विकासमा खटिएको बताउने उनै अर्बपतिले सुको योगदान पुर्याएका छैनन् । उल्टै आफूले चुनाव जितेको क्षेत्रमा अस्पताल बनाएर जनताको सेवा गर्ने भाषण दिएका उनले गत महिना संघीय सरकारसँग यसनिम्ति ५० करोड रूपैयाँ मागेका छन् । तर, १ अर्ब ८० करोड डलरको मालिक भनिएका उनले अस्पतालमा आफ्नोतर्फबाट अनुदानको अ पनि उच्चारण गरेनन् ।
गत मंसिरमा श्रीलंकाको बिग्रँदो आर्थिक अवस्थामा मल्हमपट्टी लगाउने भन्दै त्यहाँको एउटा समस्याग्रस्त बैंक खरिद गरे । यता मुलुकको बिग्रँदो आर्थिक अवस्थासँग उनलाई बालमतलब हुने कुरो पनि भएन । नेपालको सांसद हुने, रातो र हरियो दुईथरी पासपोर्ट बोक्ने, सुविधा लिने तर काम विदेशमा गर्ने उनको रणनीति नै हो । सोहीबमोजिम मुुुलुकबाहिर रहेको आफ्नो करोडौं डलरको खाताबाट चौधरीले श्रीलंका पुगेर गत पुसमा १ करोड २६ लाख १८ हजार डलरमा युनियन बैंक अफ कोलम्बो किनेका हुन् । नबिल बैंकमा गरिएको लगानी अनेक बहानामा विदेश पुर्याउँदै आएका उनले विदेशमा रहेका १४३ वटा कम्पनीको नाफाबाट सुको स्वदेश भित्र्याएका छैनन् ।
नेपालको विद्यमान कानुनले विदेशमा लगानी गर्ने छुट कसैलाई पनि दिएको छैन । तर, चौधरीले विदेशमा खोलेको शुरुको एउटा र पछि अन्य कम्पनीमार्फत उताको डलर उतै खर्च गर्छन् । यसअघि सन् २००१ मा कोलम्बोस्थित ताज समुद्र होटलमा पनि मुलुक बाहिरबाटै डलर लगानी गरेका थिए ।
टिप्पणीहरू