हिजो नियुक्त परराष्ट्रमन्त्रीलाई आज ज्ञापन

हिजो नियुक्त परराष्ट्रमन्त्रीलाई आज ज्ञापन

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर आठ बुँदे मागपत्र बुझाएको छ । अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा आज परराष्ट्र मन्त्रालय पुगेको टोलीले नागरिकता, एनआरएनए नियमावली परिमार्जनलगायतको विषयमा ध्यानाकर्षण गराएको बताइएको छ । 

गैरआवासीय नेपालीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानुन आयोगसँग विभिन्न चरणमा छलफल गरेर दिएका सुझावलाई सम्बोधन गर्न माग गरिएको छ । 

त्यस्तै, १८३ दिनभन्दा बढी सार्कबाहेक अन्य मुलुकमा बसोबास गरेका नेपालीलाई गैरआवासीय नेपालीको परिपत्र दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्न आग्रह गरिएको छ ।

संघले नेपालीहरु रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापना र गैरआवासीय नेपाली परिचयपत्र लिएकालाई नागरिकसरह प्राप्त हुने अधिकार व्यवस्थाको निम्ति पहल गरिदिन आग्रह गरेको छ । 

नेपालको संविधानको धारा २९१ ले नेपाली नागरिकता नै कायम राखेर विदेशमा बस्ने अनुमतिप्राप्त नेपाली नागरिकको मौलिक हक हनन गरेको उल्लेख गर्दै संघले यथाशीघ्र उक्त धारा परिवर्तन गर्न माग गरेको छ । गैरआवासीय नेपालीहरुको माग सम्बोधनका लागि अन्तर मन्त्रालयस्तरको कार्यशाला तर्जुमा गरी तत्काल सम्बोधन गर्न भनिएको छ ।
 

टिप्पणीहरू