धनगढीमा डा.आरजूको दायाँ बायाँ भाजपा नेता चौथाईवाले र राजदूत श्रीवास्तव
हिजो बिहान काठमाडौंबाट धनगढी जानुभएकी काँग्रेस नेतृ डा. आरजू राणाको प्रमुख आतिथ्यमा अस्तिदेखि आयोजित कार्यक्रमको समापन गरिएको छ । आजको कार्यक्रममा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, भारतीय राजदूत नवीन श्रीवास्तवलगायतको सहभागिता छ ।
हिजो र अस्ति रुबस होटलमा आयोजित कार्यक्रम आज स्थानीय सौराइ पार्टी प्यालेसमा गरिएको हो । मानसखण्ड सम्मेलन नाम दिइएको कार्यक्रममा नेपाल र भारतबीचको एकीकृत सभ्यता र सांस्कृतिक सम्बन्धबारे चर्चा गरिएको बताइएको छ ।
अस्तिदेखि आयोजित कार्यक्रमको समापनमा भारतीय राष्ट्रिय स्वयंसेवक संघ आर एस एसका प्रचार विभाग प्रमुख सुनिल अम्बेकर, भारतीय प्रहरीका पूर्व डिआईजी भगसिंह टोलिया, भारतीय प्राध्यापक डा. अनुराधा गोश्वामी, डा. निहार नायकलगायतको सहभागिता छ । उनीहरुमध्ये अधिकांश नयाँ दिल्लीबाट स्थलमार्ग हुँदै गौरीफन्टा नाका भएर धनगढी आएका हुन् ।
प्रमुख अतिथि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी राणा हिजो र भारतीय राजदूत आज बिहान उडानबाट धनगढी गएका हुन् । नेपाल र भारतका करिब पाँच सय जनाको उपस्थिति रहेको भनिएको कार्यक्रममा सुदूरपश्चिम विश्व विद्यालयका उपकुलपति अम्मरराज जोशी, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक शैलेन्द्र खनाल, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललगायत सहभागी छन् ।
अतिथि र सहभागीहरुले दुई मुलुकबीचको सम्बन्ध प्रगाढ बनाउन सांस्कृतिक सम्बन्धले विशेष भूमिका निर्वाह गरेको र यसलाई थप उचाईमा पुर्याउने बताएका छन् । सँधै काठमाडौं र नयाँ दिल्लीमा हुँदै आएको डा. राणा र डा. चौथाईवालेबीचको छलफल यस पटक उक्त सम्मेलनको आवरणमा सभापति देउवाको गृहप्रदेश तथा राणाको निर्वाचन जिल्लामा भएको छ । राणाले चौथाईवालेलाई देउवा प्रधानमन्त्री हुँदा बालुवाटारमा जनै पूर्णिमाको दिन राखि बानिदिएपछि राजनीतिक सम्बन्ध थप कसिलो हुँदै गएको हो ।
टिप्पणीहरू