संसदका सचिवहरुको हेरफेर,रविका सचेतक र ढाकाकुमार सिंहदरवारमा प्रकट
संघीय संसद सचिवालयका सचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ । प्रशासनिक कर्मचारी सचिवहरुको हिजो सरुवा गरिएको सचिवालय स्रोतले बताएको छ । दुई सचिवमध्ये प्रशासन हेर्नेलाई अनुसन्धान र अनुसन्धान हेर्नेलाई प्रशासनमा लगिएको बुझिएको छ ।
प्रशासन हेर्ने सुदर्शन खड्का र अनुसन्धान हेर्ने डा.रोजनाथ पाण्डेको जिम्मेवारी हेरफेर गरिएको हो । खड्का अलि खरो स्वभावका र बेला बेला लोकल काजी पारा देखाउने भएकाले सरुवा गर्नुपरेको महासचिव डा.भरत गौतमले बताए ।
हिजै संसदमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक र पदमुक्त सिफारिस गरिएका सांसद ढाकाकुमार पनि पुगेका थिए । सचेतक सन्तोष परियार ढाकाको पदमुक्तिसम्बन्धी पछिल्लो अपडेट बुझ्न गएका हुन् ।
श्रेष्ठले भनेर गएर आफ्नो बचाउमा कुरा राखेको बुझिएको छ । यसबीच संसद सचिवालयले श्रेष्ठको पदमुक्तिसम्बन्धी रास्वपाको सिफारिसमाथि अध्ययन गरिरहेको छ । ‘पार्टीले सबै प्रक्रिया पूरा गरेको भए निर्णय सदर हुन्छ,’ सचिवालय स्रोतले भन्यो, ‘स्पष्टिकरण सोधेको, जवाफ दिएको वा नदिएको र सुनुवाईको मौका दिएको छ वा छैन भन्ने हेरिन्छ ।’
राजनीतिक दलका सांसदलाई उसको संसदीय दलले हटाउनुपर्ने संसद सचिवालयका अधिकारीहरुको बुझाइ छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिले निर्णय गर्नुअघि सम्बन्धित सांसदलाई जवाफको मौका दिनुपर्ने महत्वपूर्ण पक्ष रहेको उनीहरु बताउँछन् ।
यता राजनीतिक दलसम्बन्धी ऐनले संसदीय दल र त्यसको निर्णयलाई त्यत्ति महत्व नदिने भएकाले पार्टी कमिटीको निर्णयलाई अन्तिम मान्ने कानुनी प्रचलन छ । त्यसैले सांसदको निलम्बन वा हटाउने निर्णयमा मूलतः राजनीतिक दलको केन्द्रीय समिति वा केन्द्रीय कार्यकारिणी समितिलाई आधार बनाइन्छ ।
यसअघि एमालेका १४ भाइ सांसदले पार्टी परित्याग गरेको सम्बन्धमा पनि सचिवालयमा उनीहरुको हैसियत माटो बनाइदिन दबाब परेको थियो । तर ती १४ जनाले पार्टी फुटाइसकेकाले थप निर्णय गर्न नपर्ने सभामुखको निश्कर्ष रह्यो । उता तत्कालीन प्रधान सेनापति रुक्माङगद कटवालको जन्म मिति विवाद सम्बन्धमा पनि अदालतले त्यस्तै निर्णय गरेको थियो । ‘कटवालले अवकाश प्राप्त गरेर भूपू समेत भइसकेकाले यसबारे निर्णय गर्न परेन,’ अदालतको निर्णयमा भनिएको थियो ।
टिप्पणीहरू