बालेनको मुद्दा कार्की श्रीमानले हेर्ने, आठौं नम्बरमा पालो
सिंहदबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको निर्णयविरुद्ध परेको रिटको पेशी कामु प्रधानन्यायधिश हरिकृष्ण कार्कीको इजलासमा परेको छ ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले हिजो रिट दायर गरेको रिटको सुनुवाइ आज कार्की श्रीमानको एकल इजलासको आठौं नम्बरमा तोकिएको हो ।

महानगरपालिका र मेयर साहसमेतलाई विपक्षी बनाइएको रिटमा फोहोर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलने भएकाले अन्तरिम आदेश जारीको माग गरिएको छ । स्थानीय सरकार र संघीय सरकारबीच समन्वय हुनुपर्ने तथा मिलेर काम गर्नुपर्ने रिटकर्ताको दाबी छ ।
सुकुम्बासी बस्ति हटाउन गृह मन्त्रालयले सहयोग नगरेकोमा रुष्ट भएका मेयर साहले केही दिनदेखि सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर संकलन नगर्न निर्देशन दिएपछि फोहोर उठेको छैन ।
उनले नेताहरुलाई सिसडोलमा डम्पिङ नगरी काठमाडौँ सफा नहुने अराजक अभिव्यक्तिसमेत दिएका थिए । त्यसको प्रतिवाद गर्दै संघीय सरकारले उनलाई सचेत गराउने निर्णय गरेको थियो ।
टिप्पणीहरू