राजा ल्याउन कस्सिएको राप्रपा आन्दोलनकारीलाई सघाउन सडकमा ओर्लने

पूर्वपञ्चहरुको पार्टी राप्रपाले मिटरब्याज पीडितमाथि भएको प्रहरी आक्रमणको निन्दा गरेको छ । 

आजको प्रतिनिधिसभा बैठकमा सो पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले न्यायका लागि संघर्ष गरेका मिटरब्याज पीडितमाथि प्रहरीले आक्रमण गरेको भन्दै उक्त घटनाको निन्दा र भर्त्सना गरेका हुन् । 

राज्य भएको अनुभूति गराउनुपर्ने सरकारले न्यायका लागि याचना गरेका पीडितमाथि नै आक्रमण गर्नु दु:खद भएको भन्दै उनले मिटरब्याज पीडित र तराई क्षेत्रमा संघर्षमा उत्रिएका हरुवाचरुवाको न्यायका लागि आफू सडकमा उत्रिने चेतावनी दिए । 

‘यतिबेला गरिबहरूको अथवा सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ भनेर सपना बाँड्ने पार्टीको नेतृत्वमा सरकार छ । तर, गरिबमाथि किन प्रहार भइरहेको छ', उनले भने, 'हामी भन्न चाहन्छौं सरकारले मिटरव्याज पीडितहरू र तराईमा आन्दोलनमा रहेकाहरूको माग सम्बोधन गरोस् । अन्यथा राप्रपा उनीहरुको साथमा सडकमा जाने घोषणा गर्छु ।’

मिटरब्याजीमाथि कारबाहीको माग गर्दै लामो समयदेखि काठमाडौँमा आन्दोलनरत मिटरब्याज पीडितहरुले हिजो सिंहदरबार अगाडि प्रदर्शनको तयारी गरेपछि उनीहरुलाई रोक्न प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा केही पीडितहरु घाइते भएका थिए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उक्त घटनाप्रति आपत्ति जनाउँदै राप्रपाले सदनबाटै आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

टिप्पणीहरू