सिंहदरबारका कर्मचारीद्वारा आन्दोलन घोषणा, सेवा ठप्प पार्ने चेतावनी

सिंहदरबारका कर्मचारीद्वारा आन्दोलन घोषणा, सेवा ठप्प पार्ने चेतावनी

निजामती कर्मचारीसम्बद्ध विभिन्न संघसंस्थाले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन गर्न लागिएको बताइएको छ । 

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आज संयुक्त विज्ञप्ति जारी गर्दै ऐन नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्यौल र अस्थिरताको भुमरीमा परेको भन्दै आन्दोलनमा उत्रिने बताए ।

तीनै तहका कर्मचारी प्रशासनलाई व्यवस्थापन एवम् मार्गदर्शन गर्ने छाता कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी गर्न सरकारले ढिलासुस्ती गरेको उनीहरुको गुनासो छ । संयुक्त विज्ञप्तिमा आगामी वैशाख १८ गतेभित्र संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न मागसमेत गरिएको छ । 

त्यस्तै, उक्त मस्यौदाको विषयमा राष्ट्रियस्तरका ट्रेड युनियनहरुसँग वार्ता, संवाद र छलफल गर्न भनिएको छ । सरकारले आफ्ना माग पूरा गर्न उदासिनता देखाएमा वैशाख १९ गतेदेखि चरणबद्ध आन्दोलन थालिने चेतावनी दिइएको छ । 

सो दिन मुख्यसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयका सचिवलाई मागहरु समावेश गरी ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ मुलुकभर मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराउने जनाइएको छ । 

वैशाख २० गते प्रधानमन्त्री, सामान्य प्रशासन, कानुन र अर्थ मन्त्री तथा दलका सचेतकहरुलाई मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ । वैशाख २१ गते ‘सिंहदरबार प्रवेश नगर्न’ आह्वान गर्ने जनाइएको छ ।

टिप्पणीहरू