चितवनको चुनाव प्रचारमा ‘घिउ भात’ र ढाकाको २ करोडको चर्चा
-अञ्जनकुमार
गत मंसिरको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थक भएर हिँडेका चितवनको इच्छाकामना–२ का सन्तोष प्रजा, सोही पालिका–४ का प्रकाश सिलवाल, शर्मिला कँडेल र कान्छा गुरुङ अहिले पनि ‘नो नट अगेन’ को पक्षमा छन् । तर, चुनाव जितेर सांसद, मन्त्री हुँदै नागरिकता विवादमा मुछिएर पुनः उपचुनाव लड्न आएका रविप्रति यसपटक भने उनीहरुको भरोसा पूरै टुटेको छ ।
एमाले इच्छाकामना–४ का सहसचिवसमेत रहेका प्रकाशले आमनिर्वाचनमा घण्टी पार्टीको कार्यालयमै बसेर रविलाई जिताउन अहम् भूमिका खेलेका थिए । अहिले भने रविप्रति आफ्नो मोहभंग भइसकेको उनी बताउँछन् ।
प्रचारशैली निकै आक्रामक र तामझामपूर्ण भए पनि रविका प्रशंसकहरुले भनेजस्तो चुनाव जित्न सहज छैन भन्ने यौटा सामान्य उदाहरण हो यो । इच्छाकामनाको गाउँबस्ती पुगेर ‘घिउ भात’ त खाएका छन् तर ढाकाकुमार श्रेष्ठको दुई करोड काण्डको रक्षात्मक बनेका रविलाई अहिले त्यसैको जवाफ दिँदैमा हैरानी परेको छ ।
रविका विरुद्ध लेख्ने, बोल्नेलाई सामाजिक सञ्जालमार्फत छारस्ट पार्न पल्किएका समर्थकहरु भित्रभित्र हतोत्साही बनेको बताइन्छ । तर, काँग्रेस, एमाले पनि चुनाव जितिनेमा ढुक्क भने देखिएका छैनन् । काँग्रेसका राम्रै मान्छेहरुले घण्टी बोक्दै गर्दा एमाले कार्यकर्ता भने त्यसरी लागेको देखिँदैन ।
दुबै दलका केन्द्रीय नेताहरू छ्यापछ्याप्ती चितवन–२ र तनहुँ–१ मा छापिए पनि काङ्ग्रेस महामन्त्री गगन थापाले चितवनमा केही गरेर पनि जित्न नसकिने गोप्य सूचना पार्टी पंक्तिमा प्रवाह गरेको बताइन्छ । चितवनमा काँङ्ग्रेस कार्यकर्ताहरु सभापति देउवालाई कुनै हालतमा पनि चुनावी भाषको निम्ति ल्याउन नहुने तर्क गर्न थालेका छन् । देउवा आए भोट झन् घट्ने उनीहरुको बुझाइ हो ।
एमालेको पहिलेभन्दा यस पटक स्थिति सुधार हुने देखिन्छ, तर जित्ने कठिन छ । चितवन–२ संगठनका हिसाबले एमालेलाई मजबुत मानिन्छ । इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरका १० वटा वडा पर्ने यो क्षेत्र विगतमा एमालेको बर्चस्व भएको क्षेत्र हो । गएको निर्वाचनमा कृष्णभक्त पोखरेलप्रतिको खस्कँदो जनविश्वास अनि रविको हावा हुण्डरीले काँग्रेस र एमाले राम्रैसँग बडारिए पनि अहिले तीन हजारभन्दा माथि मतले आफ्नो पार्टीले जित्ने यस क्षेत्रमा अड्डा जमाएर बसेका गोकुल बाँस्कोटाको दाबी छ ।
घण्टीले जित्ने दाबीसहित सामाजिक सञ्जालमा चर्को प्रचार गरिएको तनहुँमा पनि त्रिपक्षीय भिडन्तको आकलन छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचित सो क्षेत्र काँग्रेसको बर्चस्व भएको ठाउँ पनि हो । त्यसकारण ‘काँग्रेसलाई हार्ने छुट छैन’ भन्दै नेता तहका काँग्रेसीहरु राम्रैसँग खटेका छन् ।
हिजो त्यहाँ आयोजित चुनावी कार्यक्रममा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसानलगायत गठबन्धन दलका नेताहरुले घण्टीका स्वार्णिम वाग्लेलाई ठुँगेका थिए । एमालेलाई मुख्य प्रतिस्पर्धी भनिए पनि नेताहरुको मनोविज्ञान हेर्दा घण्टीका वाग्लेसँग काँग्रेस बढी त्रसित देखिन्छ ।

मंसिरको चुनावमा प्रत्यक्षमा २५ हजार ३६१ प्राप्त गरेको काँग्रेसले समानुपातिकतर्फ २० हजार १५८ मत पाएको थियो । एमालेले प्रत्यक्षमा १९ हजार ९८१ भोट ल्याउँदा समानुपातिकमा १६ हजार ६८३ मात्रै पायो । समानुपातिकमा १२ हजार ७७३ मत पाएको रास्वपाले प्रत्यक्षमा भने ६ हजार ४४ भोट ल्याएको थियो ।
काँग्रेसका विद्रोही गोविन्दराज जोशीले ६ हजार मत पाएका थिए । आज उनै जोशीले वाग्लेलाई साथ दिने वचन दिएका छन् । तसर्थ तनहुँ–१ मा वाग्ले बलिया प्रतिस्पर्धी बनेका छन् । एमाले आफ्नो मत रक्षा गर्न सके काँग्रेस र रास्वपालाई भिडाएर एक सिट फुत्काउन सक्ने अनुमान गर्नेहरु पनि छन् ।
रमाइलो कुरो चैं, सभापति शेरबहादुर देउवा दम्पत्तिलाई सत्तोसराप गरेर घण्टीको टिकट फुत्काएका वाग्लेलाई रोक्न उस्तै परे काँग्रेस एमालेका सर्वेन्द्र खनालको पक्षमा लाग्न सक्नेसम्मका अनुमान गर्नेहरु चिया पसल र चौतारीमा प्रसस्तै भेटिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा यस्ता गफ चलेको चर्चाले पनि त्यस्ता अनुमान भएका होलान् ।
टिप्पणीहरू