आज रातिदेखि मौन अवधि शुरु, उपनिर्वाचनका उम्मेदवारलाई भोट माग्न नपाइने

आज रातिदेखि मौन अवधि शुरु, उपनिर्वाचनका उम्मेदवारलाई भोट माग्न नपाइने

आउँदो वैशाख १० गतेदेखि हुन लागेको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने भएको छ । निर्वाचन आयोगले आज राति १२ बजेदेखि मौनअवधि लाग्ने भन्दै प्रसारप्रसारमा निषेध गरेको छ । 

निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रसारप्रसार गर्न नपाइने व्यवस्था छ । आयोगले आज विज्ञप्ति जारी गर्दै सोही व्यवस्थाअनुसार वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जानकारी गराएको छ । 

निर्वाचन (कसूर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारको कुनै पनि कार्य गर्न नमिल्नेबारे आयोगले स्पष्ट पारेको छ । 

‘कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएकाले सम्बन्धित सबैमा स्मरण गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न र प्रकाशन तथा प्रशारण गर्न, सञ्चारमाध्यमबाट जीत वा हारको पूर्वानुमानका सामग्री प्रसार गर्न रोक लगाइएको छ । आउने आइतबार बारा निर्वाचन क्षेत्र नम्बर २, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि चुनाव हुँदैछ ।
 

टिप्पणीहरू