जनतालेचाहिँ गल्ती गर्न नपाउनु ?

नयाँ जोगीले बढी नै खरानी खस्छन् भनेर त पुर्खादेखि नै भन्दै आएको कुरो हो । तैपनि जोगीको भेषमा नाचिरहेका ढाेंगीहरूलाई किन चिन्दैनौं हामी ? जसको नजर नै निष्कपट छैन, सीधा–सीधा प्रस्तुत हुँदैन, ती केको साधु–सज्जन ?! धेरै खोकेर मात्र हुन्छ ? हुनुप¥यो नि दम ! विश्वासलायक छवि खै ? भूलभूलैयाकै राजनीति जो छ नेपालमा !

पुराना राजनीतिक दल र तिनका शीर्ष नेताहरूको गुलियो आश्वासनमा भुल्दा–भुल्दा वाक्कदिक्क भएका नेपाली जनताले फरक स्वादको आशा राखी नयाँलाई रोज्दा झन् यतिविघ्न भद्रगोल ?! राम्ररी हेर्दै नहेरी क्वाप्प खाइहाल्ने हाम्रो बानी नै नराम्रो । बाहिरबाट झट्ट हेर्दा अर्कै ग्रहबाट आएझैं खास देखिए पनि केही पात्र अन्ततः बकवास बुख्याँचा भन्ने जगजाहेर भइसक्यो । हिजो रवि र रास्वपालाई भोट दिएर जिताउने मतदाता पनि अहिले ‘कस्ता बकम्फुसेलाई भोट दिइएछ ?’ भनी थक्थकाइरहेका छन् ।

रविकै कारण चितवन–२ मा फेरि प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदै छ । चितवनको प्रचण्ड गर्मीमा भोट खसाल्न जनता फेरि घाममा पोलिँदैै लाइनमा उभिनुपर्ने कसका लागि ? जब देवाधिदेव महादेव रिसाउँछन्, शंकरको ध्यान खुल्छ, आँखा बल्छ, त्रिशुल चल्छ तब ढोंगी, पापीहरूको केचाहिँ चल्छ ? काखमा नारायणी नदी बग्ने भरतपुर, चितवन देवघाटधामको पावनक्षेत्र हो । बाटो–बाटो धोती उचाल्दै हिँड्ने जोगीहरूको मात्र होइन, साधुसन्तको पनि बास छ यहाँ । यो पहिलो महिना अर्थात् नयाँवर्ष २०८० को वैशाख १० ले देशको दुर्दशा फेर्नुछ ।

धूत्र्याइँ पनि अलिअलि गरेको हो र ? अर्काको सेन्टिमेन्टमा खेल्न खप्पिस । चुनाव चिह्न घण्टी पनि हिन्दू देशका जनतालाई आफूतिर तान्ने तुरूपसिवाय केही होइन । पत्नी खुट्टाको जुत्ताझैं फेरीफेरी हिँड्ने, स्वार्थको लागि देशै–भेषै बदल्ने मान्छेको लहैलहैमा उतिबेलै हामी हुर्रिन हुन्थेन । आफ्नो एउटै परिवार मिलाएर राख्न नसक्ने, चुलोदुलो फेर्दै हिँड्नेले कसरी  देश बनाउँछ ? 

एउटा, दुइटा हो र ? पत्नी चारवटीसम्म पु¥याएको सुनिन्छ । आधा आकाश धानेका नारी त नाडीको रौं बराबर पनि भइनन् । आफ्नो जीउभरि उस्रेको फोहोरचाहिँ अरुले देख्ला कि भनेर लुकाउन । झुटमाथि झुट फलाक्ने ।

हिन्दू देश नेपालमा देवीदेवता जगाउन साँझबिहान मन्दिर अनि घरघरमा बजाइने घण्टीलाई समेत जनता झुक्याउने छडी बनाउने ? ईश्वरकोसमेत रत्ति डर नहुने ? शक्तिसम्पन्न अर्काे देशमा पुगेपछि आफ्नो जन्मभूमिलाई नै त्याग्न सक्ने नेपालको ऐन कानुन नै मान्न नपर्ने !?? नेपालमा अमेरिका, भारतलगायत मुलुकको खास विश्वासीका रूपमा हाम्रा कतिपय नेताहरू नै परिचालित रहेको जानकारहरूले बारम्बार बताउँदै आइरहेकै छन् । नेपाल आमाको छातीमै कुल्चेर टिभीमार्फत झल्याकझुलुक देखाउँदा पनि पहिले त कसैले बोल्ने आँट गरेकै थिएनन् । सुरुमै स्वाङको खबर पनि त खासै हुँदैन । त्यसमाथि मिडियाको कभर ओढ्नसमेत भ्याएको । पर्दाभित्र चर्काेचर्काे गर्जेको सुन्दा धेरैले सिंघम नै ठाने । गृहमन्त्री र सांसद पदबाटै गएपछि देश–जनतासामु स्विकारेनन् त ‘म अनागरिक’ भनी ! जसको आफ्नै घर भताभुंग छ, एउटै परिवारको दिगो व्यवस्थापन गर्न सक्दैन, त्यस्ताबाट सिंगो देश बन्छ भनेर पत्याउने हामी ? नागरिकताको अँध्यारो पाटो त छँदैछ, पासपोर्टमा पनि छलछाम गरेको सुनिन्छ । कहिले एउटा राहदानी, कहिले अर्काे पासपोर्ट प्रयोग गरेर एक देशबाट अर्काे देश पुगेको समेत पाइएको छ ।

पार्टी नामको पसलमा पनि स्वतन्त्र लेखिएको होर्डिङ्ग बोर्ड झुन्ड्याइएको छ । सिस्टमको ठुल्ठूला कुरा गर्ने आफूचाहिँ सिस्टममा बस्नु पर्दैन ? ‘अरु सबै अगतिलो, मै गतिलो रे !’ अर्काको आङको जुम्रा केलाउँदै हिँड्नेले आफ्नो आङको भैंसी लुकाउने ? आफ्ना बाङ्गा काम–कुराको ठेली छोपेर टिभीको पर्दामा चाहिँ सीधा कुरा जनतासँग !

टिभीमा अनुहार देखायो, आवाज सुनायो, हल्लीखल्ली त भइहाल्छ । हुंकार पनि मिडियाको नित्यकर्मभन्दा बढी केही थिएन । कस्ता–कस्ता खत्रा–खत्रा खोज–अनुसन्धान गरी समाचार लेखेर यो देश–समाजमा ठुल्ठूलै परिवर्तन ल्याइआएका गुरु पत्रकारहरूको अगाडि भुइँफुट्टा रवि त केही पनि होइन । करोडौं–अर्बाैंका भ्रष्टाचार काण्डहरू छताछुल्ल पारेर राष्ट्रिय ढुकुटी जोगाइदिने यस देशका गहना पत्रकारहरू जिउँदै छैनन् र ? तर के गर्नु यहाँ गरीब निमुखालाई एकपोका बिस्कुट वा चाउचाउ दिएको फोटो, भिडियो खिचेर आफूलाई महानदाताको रूपमा चिनाउन फेसबुकमा हाल्ने ढाेंगीहरू नै धेरै देखिन्छन्, सुनिन्छन्, बोलिन्छन् ।

नागरिकता नसच्याउने, नेपालमा टिभी जर्नालिज्म गर्ने तर प्रेसपास नै नलिने कतिसम्मको हेपाहा पारा ? प्रेस काउन्सिल नेपाल सकेसम्म पत्रकारहरूलाई जोगाउने र सघाउने नै संस्था हो । छोराछोरीलाई झैं माया पनि गरिएको छ, उत्कृष्टलाई छानीछानी पुरस्कृत गरिन्छ प्रत्येक वर्ष । आफ्नै सन्तान भए पनि बदमास र अटेरीलाई कारबाहीको लौरो बर्साउने अभिभावक संस्था यही हो । राँडनभाँडको रविलाई कानुनीप्रक्रिया पूरा गरेर कामकाज गर भन्नु गलत थियो ?

मातृभूमिको माया हुने कसैले अमेरिका पुग्दैमा नेपालको नागरिकता त्याग्ने थिएन । दुवै देशको पासपोर्ट आलोपालो प्रयोग गरेकोसमेत भेटिएको छ । गगन थापा उठेको आफ्नै घरक्षेत्रमा रास्वपाका कोही उम्मेदवार उठाइएन किन ? 

हरेक घटनाको सकारात्मक र नकारात्मक दुई पाटा हुन्छ । गत चुनावमा रविलाई जिताउनु पनि पुराना राजनीतिक दलका नेताहरूलाई तोरीको फूल देख्ने गतिलो झापड हो वा भनौं सच्चिने अवसर । यही मेलोमा घण्टी लिएर भगवान्झैं छद्मभेषमा आएका रविलाई चिन्ने मौका पाए जनताले ।

‘प्रेस पास लिऊ, कानुनी प्रक्रिया पूरा गरेर काम गर’ भनी सम्झाउँदा उल्टै ‘बरु रत्नपार्कमा जुत्ता पालिस गरेर बस्छु’ भन्नेले नटेरीनटेरी नागरिकता पनि नसच्चाइनसच्याइ सबलाई पेलेरै प्रतिनिधिसभाको चुनावमा उठेथ्यो ! ‘आच्छिउँ खायो, बाच्छिउँ खायो, झुसे बारुलो’ भनेको यही होला ! 

बाध्यता वा रहरले अमेरिका पुगी केही वर्ष उताको अस्थायी कार्ड लिएर बस्नुसम्मलाई गलत भनिँदैन थियो तर उसले त उताको रंसरंग अनि नांगो दुनियाँमा भुलेर मातृभूमिको पहिचान नै लत्याउन सक्यो । कुनै देशभक्तको आत्माले त्यसो गर्न मान्ला ? अहँ, मान्दैन । 

गृहमन्त्रालय, सञ्चार मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालयजस्तो महत्वपूर्ण निकायमा कदापि छिर्नै दिनु हुन्न अब यस्तालाई । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले समातेर कारबाही अगाडि बढाउँदै गर्दा चितवनेहरूको भीडले न्यायलाई प्रभावित पारेको हो, नत्र रवि जेल जाने पक्का थियो । अरु सामान्य मान्छे हुन्थे भने पूरा सजायँ काटेर मात्रै काराबासबाट छुट्ने थिए । अन्धभक्त भई जनताले काँध चढाएर बचाउन जरुरी छँदै थिएन । 

आँखा छोपेर दुनियाँलाई भीरमा कुदाउनुहुन्छ,
नसुन्ने, नदेख्नेले पनि थाहा पाइसके हजुर अब
समयको एक एक हिसाब कहिले बुझाउनुहुन्छ ?
– ऋषि बस्ताकोटी

हालै फेसबुकतिर वा कहीँकतै फेला परेको यो काव्य अंशको प्रसंग पनि रवि लामिछानेलाई नै भनेजस्तो लागेर यहाँ उतारिएको हो । जुन थालमा खायो त्यही थालमा चुठेर हिँड्ने मान्छे कहिल्यै गतिलो हुन सक्दैन । याद राखौं, टुप्पाबाट पलाएकाहरू हमेसा टुप्पिनै खोज्छन्, आफू कच्चा तर अरुलाई बच्चा देख्छन्, कसैलाई गन्दैनन्, अलिकति बतासमै बेसरी मच्चिन्छन् अनि आफैं पत्तासाफ भएर भुइँमा थच्चिन्छन् । रविलाई गृह मन्त्रालयबाट गलहत्याइएपछि शर्मिला आचार्यले सामाजिक सञ्जालमा हाकाहाकी भनेकी थिइन्, ‘रवि लामिछाने त गोकुल बाँस्कोटाभन्दा पनि नैतिकताहीन मान्छे रहेछन् । नागरिकता नक्कली ठहर भएर सम्पूर्ण पदबाट बर्खास्त भएको मान्छेलाई फेरि मन्त्री चाहियो रे !छि, छि, यस्ताले अझै वैकल्पिक राजनीति गर्ने रे ?’ 
 

टिप्पणीहरू