विराटनगरमा मलामी र प्रहरीबीच झडप, प्रहरी घाइते
विराटनगरमा निकालिएको शव यात्रामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । कोशी प्रदेश नामकरणको विरोधमा आयोजित प्रदर्शनमा घाइते भएपछि उपचारको क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङ्गको शवयात्रामा झडप भएको बताइएको छ ।
विराटनगरको रोडशेष चोकमा झडप भएको हो । प्रदर्शनकारीहरु धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शवयात्रा निकालेर विराटनगर जाँदै थिए । आज लिम्बूको अन्तिम दाहसंस्कारको निम्ति प्रदेशका पहिचानवादीहरुले धरानदेखि शवयात्रा निकालेका हुन् ।
धरानबाट आएको शवयात्राका सहभागी रोडशेष चोकमा पुगेपछि प्रहरीसँग भिडन्त भएको बताइएको छ । यता प्रहरीले प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोजेको बताएको छ । उनीहरुले आफूहरुमाथि ढुंगामुढा गरेको प्रहरीको भनाई छ ।
भिडन्तमा कम्तीमा चार जना प्रहरी घाइते भएका छन् । प्रहरीले झण्डै ५० राउण्ड टियरग्यास प्रहार गरेको बताइएको छ ।
टिप्पणीहरू