बारामा जसपाले बुथ कब्जा गरेको भन्दै सिके राउतको हारगुहार

बारामा जसपाले बुथ कब्जा गरेको भन्दै सिके राउतको हारगुहार

जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुई वटा बुथ जनता समाजवादी पार्टी (जसपा)ले कब्जा गरेको आरोप लगाएका छन् । 

पचरौता नगरपालिकाको बेलडाडी र देवताल झिपकैया बुथ जसपाका कार्यकर्ताले कब्जा गरेको उनले दाबी गरे । ती बुथमा आफ्ना प्रतिनिधिलाई प्रवेश गर्न रोक लगाइएको राउतको गुनासो छ । 

बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले भने, ‘पचरौता नगरपालिका बेलडाडीमा हाम्रा प्रतिनिधिलाई छिर्न दिईएको छैन,त्यस्तो अवस्था देवताल झिपकैया बुथमा पनि देखिएको छ ।'

आफूले हिजै जसपाले बुथ कब्जा गर्नसक्ने भन्दै स्थानीय प्रशासनलाई खबर गरेपनि बेवास्ता गरिएको पनि राउतले बताए । ‘मैले हिजोदेखि नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाई भएको छैन’, उनले भने ।   

प्रहरी प्रशासनको मिलेमतोमा नै जसपाले बुथ कब्जा गरेको दाबी गर्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

बारा–२ मा जसपाबाट केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार रहेका छन् । यी दुईबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

टिप्पणीहरू