"चुनावको तनाव-पर्खाइमा भिज्यो सिरानी"
-जीवन डाँगी
काठमाडौँ उपत्यकातिर सिमसिम वर्षा भइरहेको छ। सानेपामाथिको ‘गगन’ धुँवाधुलो र बादलले धुम्म छ। मध्य वैशाखको मौसम एकाएक बिग्रिए पनि साेमबार उत्सवमय छ। देशभर लोकतन्त्र दिवस मनाइँदैछ। एकथरी नेता–कार्यकर्ताहरू ‘लोक र तन्त्र’को नाम जप्दै चिच्याइरहेका छन्। उनीहरू (अ)सामाजिक सञ्जालमा रमाइरहेका छन्।
माैसमसँगै राजनीतिकाे चर्चा गराैँ— १७ वर्षअघि जनआन्दोलनको बलमा स्थापित लोकतन्त्रको एउटा अङ्ग तनहुँ–१ बाट प्रकट भइरहेको छ। प्रतिनिधिसभा सदस्यकाे उपनिर्वाचनअन्तर्गत चुनावी मैदानको शीर्ष पंक्तिमा छन्, गोविन्द भट्टराई, सर्वेन्द्र खनाल र स्वर्णिम वाग्ले।
निर्वाचन आयोगबाट खटिएका कर्मचारीहरू मतमेटिका खोतलखातल पार्दैछन्, उम्मेदवारले चियाको चुस्की लिइरहेका छन्। समर्थकहरूले मतपरिणाम पर्खिरहेका छन्। तनहुँका मतदाताले भोट हालिसके, बाँकी नजिता मतमेटिकाभित्र छ।
मध्य नेपाल विस्तारैविस्तारै उज्यालिए पनि काठमाडौँको मौसमबारे मौसमविद् भन्छन्, ‘गगन खुल्न समय लाग्ला। तर मौसम सुधार हुँदैछ।’ उम्मेदवार र समर्थकहरूको अनुहार कस्तो होला? कार्यकर्ताहरू के खाइरहेका होलान्? चासो–चिन्ता पक्कै छ। कस्तो आउला चुनावी नतिजा? तर दुनियाँले पर्खिरहेको छ– ‘स्वर्णिम जित’।
चर्चित अर्थशास्त्री स्वर्णिम वाग्ले र कांग्रेस महामन्त्री गगन थापा एकसमय एकैकित्तामा थिए। थापा वाग्लेलाई र वाग्ले थापालाई रुचाउँथे। गगननिकट हर्ताकर्ता कार्यकर्तै थिए, उनी। स्वर्णिम–बाेलीलाई कतिपयले गगनझल्काे पनि भन्थे। स्वर्णिम हिँडिरहेकाे गगनपथ एकाएक भत्कियाे। लगतै, बाधक बनिदियाे कांग्रेसकाे शीर्ष नेतृत्व। ‘दाइ–दाउजू’को चेपुवामा पर्दा राजनीतिक–सास फेर्नै मुस्किल भएपछि महिना दिनअघि कांग्रेस त्यागेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा गए, उनी।
परम्परागत पार्टीले उचित स्थान नदिँदा वाग्लेहरूले वैकल्पिक शक्ति राेजे। ‘इतिहास जित्ने मुक्का’ उठाइरहेका वाग्ले सोमबार बिहानैदेखि ‘दोब्बर मतले अघि, तेब्बर मतले अघि’जस्ता मिडिया शीर्षकको केन्द्रविन्दूमा छाइरहेका छन्। घुम्दै–फिर्दै राजनीतिको रुन्जाटारमा आइपुगेका उनी तनहुँदेखि काठमाडौँसम्म चर्चामै छन्।
सामाजिक सञ्जाल र भूइँतहको अनुमान छ– स्वर्णिम वाग्लेले तनहुँबाट चुनाव जित्दैछन्! भोट खसाल्नुपूर्व गाउँघरतिर राम्राे माहोल देखियो। सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालको मतसमेत घन्टीका उम्मेदवार वाग्लेले खोस्दै छन्। कतिपय गगननिकट स्थानीय नेता–कार्यकर्ताहरू खुलेरै उनको प्रचारप्रसारमा जुटे। उनीहरू स्वर्णिमलाई भोट माग्दै हिँडे, जिताउन लागिपरे।
रास्वपाका उम्मेदवार वाग्लेलाई गगन–कांग्रेसका नेता–कार्यकर्ताले मात्र हाेइन निर्वाचन जित्न नसकिने अनुमान गरेका एमाले कार्यकर्ता र उम्मेदवारबिनाका माओवादी–एकीकृत समाजवादीका स्थानीय नेता–कार्यकर्ताहरूले पनि घन्टीमै मत हालेका छन्। ‘डे–वान’देखि तनहुँका मतदाता र काठमाडौँका मिडियामा छाइरहेका उम्मेदवार वाग्लेले तनहुँकाे मनपनि जिते, सम्भवतः मतपनि जित्दैछन्।
उपनिर्वाचनमा तनहुँ–१ सँगै बारा–२ र चितवन–२ मा बहस–संवाद भइरहेकाे छ। यसपालि उम्मेदवार चाहीँ ‘कडक–कडक’ छन्, उनीहरूकाे परिचय छ– ‘हारेर पनि जित्न खोजिरहेका, जितेर पनि हारेका, उपचुनावको मौकामा चौका हान्न दाैडिरहेका’ तर नयाँ र पुराना पुस्तका नेता। तीनवटै निर्वाचनक्षेत्रकाे नतिजा हेर्दापनि पत्ताे लाग्छ कि परम्परागत शक्तिसँग मतदाता सनतुष्ट छैनन्। उनीहरूले कुनै न कुनै नयाँ विकल्प खाेजेका रहेछन्।
तनहुँको चुनावी परिणाम आइरहँदा सबैभन्दा धेरै पीडा नेपाली कांग्रेस र महामन्त्री ‘गगन थापा–विश्वप्रकाश शर्मा’लाई छ। उनीहरूलाई नहोस् पनि कसरी– मतदानअघि सकिनसकी काठमाडाैँबाट भाेट माग्न तनहुँ ओर्लिए। स्वर्णिम वाग्लेलाई हराउन आफू मात्र लागेनन् चारजना पूर्वप्रधानमन्त्री र दर्जनौँ वरिष्ठ नेतासमेत खटाए। एउटा परिवर्तनशील युवालाई घन्टीले उम्मेदवार बनाउँदा हराउनैपर्ने के बाध्यता आयो, महामन्त्रीज्यू? आफूलाई कनिकुथी प्रभावशाली बताउने यी दुई युवा–नेताको चरित्र देखेर देशवासी छक्क छन्।
राजनीति एक ठाउँमा थन्काइदिउँ तर हिजोसम्म आफ्नै गोदमा हुर्किएका स्वर्णिम वाग्ले, पूर्वमन्त्री शिशिर खनाल, सांसद मनिष झा, डा. चन्दा कार्की र अरनिको पाँडे ‘लामिछाने दाइ’को घन्टी बजाउँदै हिँडिरहँदा किन यत्रो तनाव? गगनलाई महामन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका वाग्ले आज कसरी बिरानो र बैगुनी हुनपुगे, त्यो समीक्षा चाहीँ गर्नुपर्दैन? वाग्ललाई हराइछाड्ने बाचा गरेर ‘हरि’को नाम जप्दै तनहुँमा दौडिएका गगनलाई स्वर्णिमले जित्दैछन् भन्ने खुसखबर सुन्दैछन् रे!
सिंहदरबार र कोटेश्वरबाट गठबन्धनका नाममा तनहुँ लगिएका प्रधानमन्त्रीसमेत रहेका माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले चुनाव जितेपछि मन्त्री बनाउँछु भन्दै एकथान मन्त्रीपद पनि बाँडे। यही सुन्न बाँकी थियो, त्यो पनि तनहुँका मतदाताले सुनिहाले। कांग्रेसको टाउको दुखाइ बन्दै आएका वाग्लेले मतदाताको मुड हेर्दा ‘दाइ–भाउजू र महामन्त्री गगन–विश्व’सँग संसद भवनभित्रै गूड खेल्ने सम्भावना बलियो छ।
निर्वाचनपूर्व आत्मीय सम्बन्ध र प्रियविज्ञ ठानिएका वाग्लेलाई महामन्त्री गगनले आलाेचना बाहेक केही गरेनन्। गगन थापाले सत्ता राजनीतिका लागि खेल्दैआएकाे दृश्यलाई कतिपय मानिसहरूकाे जिज्ञासा छ– ‘गगनकाे लाजनीति कहाँ गएर भत्किएला?’ स्वर्णिम वाग्लेहरूले कांग्रेस छाड्नुमा गगन–विश्वहरू कति प्रतिशत दाेषी छन्? पार्टी उनीहरूकाे पनि हाे, महामन्त्री उनीहरू पनि हुन्।
त्यसो त स्वर्णिम वाग्ले सिंहदरबारका लागि नयाँ पात्र होइनन्, उनी आफैँमा भाइ–कांग्रेस हुन्। कांग्रेसभित्र निराशाको खेतीपाती गर्ने गगन समूहका अनेकौँ नेता–कार्यकर्ताहरू अब कि दाइ– कांग्रेसमा बस्ने छन्, कि भाइ–कांग्रेसलाई विकल्प मान्दै सर्ने छन्। घन्टी चिन्हका उम्मेदवार वाग्लेलाई कांग्रेस महामन्त्री गगनले गाली हाेइन, एकपटक धन्यवाद मित्र भन्नुपर्छ! कम्तीमा ‘दाइ–भाउजू’ले पेलेपछि थकाइ मार्ने चौतारी त बनाइदिए। बुढो कांग्रेसमा नअटेका कांग्रेसीहरू अट्न एउटा दल त खोजिदिए।
जित्नेको मात्र हुन्छ र इतिहास? पक्कै पनि हुँदैन, त्यसैले अर्को नमूना इतिहास बनाउँदैछन्, सर्वेन्द्र खनाल र गोविन्द भट्टराई। पीडाको पोखरीमा डुब्दै आएका ‘गगन–विश्व’ले यतिबेला सुनिरहेका होलान्, ‘पर्खाइमा भिज्यो सिरानी’। युवा कांग्रेसकाे रूपमा चिनिएकाे ‘गगन–कांग्रेस’ले स्वर्णिम वाग्लेकाे जित पर्खिरहेको छ।
टिप्पणीहरू