गण्डकीमा सरकार गठनको निम्ति तीन दिनको म्याद
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनका लागि तीन दिनको समय दिनुभएको छ ।
उहाँले वैशाख १४ गते दिउँसो ४ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्नहुन आह्वान गर्नुभएको हो ।
सोबमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सकिनेछ । एमाले नेतृत्वको अधिकारी सरकार पनि सोही धाराबमोजिम गठन भएको थियो । तर, माओवादीलगायत तत्कालीन गठबन्धन दलहरुले विश्वासको मत झिकेपछि अल्पमत परेको थियो ।
टिप्पणीहरू