उपनिर्वाचन एमालेको लागि प्लस माइनस जीरो हो : विष्णु रिमाल

उपनिर्वाचन एमालेको लागि प्लस माइनस जीरो हो :  विष्णु रिमाल

धादिङ– नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले चितवन, तनहुँ र बाराको उपनिर्वाचनबाट नेकपा एमाले आउनु र नआउनुमा तात्विक अर्थ नरहेको बताएका छन् । उपनिर्वाचनको परिणामले एमालेमा अंकगणितीय तलमाथी नपर्ने उनले बताए । 

प्रेस चौतारी नेपाल धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासामा उनले भने–‘हामी हाम्रो विषयलाई ब्राण्डिङ गरिरहेका छौं । हामीलाई अहिले तीन सिट घट्नु र बढ्नुको तात्विक अर्थ छैन ।’ 

मतदातालाई आफ्ना विषयबारे सचेत गराउन मात्रै उपनिर्वाचनमा एमालेले उपस्थिति जनाएको उपमहासचिव रिमालले बताए । ‘अघिल्लो निर्वाचनमा पनि तनहुँ र चितवनमा हामीले जितेका थिएनौं, बारामा छोडेका थियौं । अहिलेको उपनिर्वाचन हाम्रो लागि प्लस माइनस जिरो हो । अहिले हामीले प्रकृयामा भाग लिएका मात्रै हौं’, उनले भने । 

आइतबार भएको तीन वटै उपनिर्वाचनले राष्ट्रको केही पनि प्रतिनिधित्व नगर्ने पनि उनले बताए । यो फिल इन द ब्लान्क मात्रै भएको पनि उनले जिकिर गरे । 

चार वर्ष पछि हुने चुनावकोे तयारी स्वरुप पनि एमालेले मिसन ग्रासउट अभियान चलाइरहेको रिमालले बताए । मिसन ग्रासरूट अभियान मार्फत एमालेले देश भरीको सूचना संकलन गरिरहेको बताउँदै रिमालले कार्यकर्ताको भावना र एमालेप्रति जनताको दृष्टीकोण मुल्याङ्कन गरिरहेको बताए ।

टिप्पणीहरू