भोट गन्दागन्दै उपेन्द्र यादवले भने : अहिले बोल्नेबेला भएको छैन

भोट गन्दागन्दै उपेन्द्र यादवले भने : अहिले बोल्नेबेला भएको छैन

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् बारा क्षेत्र क्षेत्र नम्बर २ उम्मेदवार उपेन्द्र यादवले मत गणनाको प्रारम्भिक नतिजाबारे बोल्न हतार हुने बताएका छन् । 

कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका उनले मत गणना भइरहेको भन्दै तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका हुन् । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यादवले प्रारम्भिक परिणाम राम्रो आएको र अन्य कुरा पछि बोल्ने बताए । 

‘अहिले गणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ उनले भने, ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसँग प्रतिक्रिया दिनेछु ।’अध्यक्ष यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । अगाडि भने, ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन ।’ 

मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । पछिल्लो अपडेटअनुसार उनले १५ हजार ९८० मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ११ हजार १९८ भोट पाएका छन् ।

तेस्रो स्थानमा रहेको एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पाँच हजार १४१ भोट पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत ल्याएका छन् ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीको भोट जम्मा एक हजार ६२७ छ ।

टिप्पणीहरू