उपचुनावमा राजावादीहरुको धरौटी जफत
राजा र राजसंस्था फर्काउने एजेण्डा बोकेर राजनीति गरिरहेको पूर्वपञ्चहरुको पार्टी राप्रपा उपचुनावमा नराम्रोसँग बढारिएको छ । उपचुनाव भएका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको राप्रपाले धरौटीसमेत जोगाउन सकेको देखिएन ।
२०७४ सालको आमचुनावमा कम्युनिष्टहरुको समेत साथ लिएर झापामा एक सिट जितेको राप्रपाले गत मंसिरको आमनिर्वाचनमा प्रत्यक्षतर्फ सातसहित १४ सिट जितेर राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाएको थियो । तर, त्यसको छ महिना नपुग्दै भएको उपनिर्वाचनमा कूल खसेको मतको १० प्रतिशतसम्म ल्याउन नसक्दा त्यो पार्टी झन् कमजोर सावित भएको छ ।
एक्लै चुनावमा होमिएको राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीवलाल पुरी र बारा–२ मा सोनालाल प्रसाद तेलीलाई उठाएको थियो । तीनै जनाको जमानत जफत मात्र भएको छैन, उनीहरुले एक हजार मत पनि ल्याउन सकेनन् ।
तनहुँ–१ मा सांगठनिक हैसियत नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत ल्याएर जित हात पार्दा राप्रपाका उम्मेदवार गुरुङले २१८ मत मात्रै प्रप्त गरेकी छन् । मंसिरको चुनावमा झण्डै ३ हजार हाराहारीमा भोट ल्याएको राप्रपाले यसपटक त्यहाँ लज्जास्पद परिणाम व्यहोर्न पुग्यो ।
रास्वपाका सभापति रवि लामिछानेले छलाङ मारेको चितवन–२ मा पनि चुनावी परिणामले राप्रपाको कन्तबिजोग देखायो । लामिछानेले ५४ हजार ९७६ मत ल्याएर जितेको त्यस क्षेत्रमा राप्रपाका उम्मेदवारले जम्मा ३७५ मत ल्याएका छन् । उपाध्यक्ष विक्रम पाण्डेको गृहजिल्ला समेत रहेको यहाँ राप्रपाले सम्मानजनक मत ल्याउने धेरैको अपेक्षा थियो । तर, अघिल्लो पटक पाएको मत पनि पुरीले सुरक्षित गर्न सकेनन् ।
बारा–२ मा राप्रपाको हालत झन् खराब देखियो । त्यहाँ उक्त पार्टीबाट उठेका सोनालाल तेलीको मत जम्मा ११९ मात्रै छ । जबकी विजयी उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४१५ भोट ल्याएका छन् ।
कुल खसेको मतमध्ये सदर मतको १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।
टिप्पणीहरू