केपी ओलीमाथि आक्रमण किन गरेको भन्दै विष्णुप्रसाद संसदमा चर्किए

 नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यससम्बन्धमा प्रधानमन्त्री आफैंले सदनलाई जवाफ दिनुपर्ने माग गरे । अध्यक्ष ओली पाँचथरमा रहेको र त्यहाँको शान्ति सुरक्षा राम्रो नभएकाले कुनै अप्रिय घटना भए सरकारलाई महंगो पर्ने पौडेलको चेतावनी छ । 

वैशाख १३ गते झापाको एउटा कार्यक्रममा सहभागी हुन पुगेका ओली र नेम्वाङसहितका एमाले नेतामाथि ’कोशी’ प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पक्षले नाराबाजीसहित बाटो अवरोधको प्रयास गरेको थियो । त्यस घटनालाई लिएर प्रतिनिधिसभाको अघिल्लो बैठकमा पनि एमाले सांसदहरुले सरकारको जवाफ मागेका थिए । 

त्यसदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले आक्रमणकारीहरुलाई पक्राउ गरिसकेको र ओली सुरक्षित रहेको बताएका थियो । तर, आजको बैठकमा पौडेलले गृहमन्त्रीको जवाफप्रति चित्त बुझाउन नसकिएको भन्दै प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरे । 

एमाले नेताहरुले ओलीमाथि भएको ‘आक्रमण’ को प्रयासमा सत्तारुढ दलका कार्यकर्ता संलग्न रहेको दाबी गर्दै आएका छन् । त्यसको सूचना आएको भन्दै संसद बैठकमा पौडेलले भने, ‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’

टिप्पणीहरू