धर्नास्थलबाट सिंहदरबार छिरेका महावीर र सरकारको कुरो मिल्यो

धर्नास्थलबाट सिंहदरबार छिरेका महावीर र सरकारको कुरो मिल्यो

सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । आज रक्षा मन्त्रालयमा भएको दुईपक्षीय छलफलमा पुनका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने सहमति भएको छ । 

भोलिसम्म आफ्ना माग पूरा गर्न सरकारले प्रतिबद्धता जनाएको छलफलपछि पुनले जानकारी दिएका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्य उदासिन रहेको भन्दै पुन शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन् । 

माइतीघर मण्डलामा धर्ना बसेका उनी आज धर्नास्थलबाटै सरकारसँग वार्ता गर्न सिंहदरबार छिरेका थिए । कानुन मन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनसहित उनको धर्नामा ऐक्यबद्धता जनाएका अभियन्ताहरु आजको छलफलमा सहभागी रहेको खड्काको सचिवालयले जनाएको छ ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै आन्दोलन थालेका पुनलाई सरकारले यसअघि नै वार्तामा बोलाएको थियो । नेपालमा बनेको सवारी साधन दर्ता गर्न कार्यविधि संशोधन गरेको सरकारमाथि पुन धर्नामा बसेपछि वार्ता गर्न दबाब परेको थियो । 

पुनसँग वार्ता गरी उनका माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रक्षामन्त्री खड्कालाई निर्देशन दिनुभएको बताइएको छ ।

टिप्पणीहरू