सर्पमोहले जीवन सत्यानाश

सर्पमोहले जीवन सत्यानाश

सर्पलाई माया गरेर खेलाउँदा हेटौँडामा एक जनाको ज्यान गएको छ । हेटौँडा १९ बस्तीपुरका ३५ वर्षीय सोनु कँडेलको सर्पको डसाईका कारण आज दिउँसो मृत्यु भएको हो । 

उनलाई अपरान्ह ४ः२० बजे हेटौँडा अस्पतालका डाक्टरले मृत घोषित गरेका थिए । घटना विवरण अनुसार कँडेलले आज दिउँसो जंगलमा भेटिएको एउटा सर्प घरमा ल्याएका थिए । 

घरमा ल्याएर सर्पको माला लगाउने, खेलाउने र माया गर्नेजस्ता क्रियाकलाप उनले गरेका थिए । सोही क्रममा कँडेलको दायाँ हातको माझी औँलामा सर्पले डसेको पाइएको थियो । यद्यपि सर्पले डसेको र पीडा भएकोबारे उनले कसैलाई जानकारी गराएका थिएनन् । 

परिवार र छरछिमेकको हस्तक्षेपपछि जंगलबाट ल्याइएको सर्प घरबाट भाग्याे र घाइते अवस्थामा रहेका कँडेललाई हेटौँडा अस्पताल लगिएको थियो । प्रत्यक्षदर्शीका अनुसार जंगलबाट समातेर ल्याइएको र कँडेलले माला लगाएर खेलाएको उक्त सर्प गोमन प्रजातिको रहेको बताइन्छ । 

कँडेल वैदेशिक रोजगारीबाट फर्केका र हाल घरगाउँमै सामान्य जीवनयापन गरिरहेका थिए ।

टिप्पणीहरू