फुली थप्ने कहिले आउला पालो
पर्नेलाई पीडाले सताइरहेको छ, घाट कुर्नेहरू चाहिँ लाश आउला र खरानी पखालौँला भनेर बसेका छन् । नेपाल प्रहरीभित्र यस्तो भएको छ । डिआइजी बढुवामा अन्यायपूर्वक समावेश नगरिएपछि उमेर हद लागेर वैशाखमा एकजना, साउनमा अर्कासहित केही दरबन्दी खालि हुने भएको छ । गृह मन्त्रालयचाहिँ यही वैशाख १५ गते चक्रबहादुर सिंहले उमेरका कारण अवकाश पाएपछि रिक्त भएको दरबन्दीमा एसएसपी बनाउने मान्छे कुरेर बसेको हो ।
वैशाख ६ गते भएको डिआईजी बढुवाका विरुद्ध र आफूहरूमाथि न्यायको माग गर्दै एसएसपी सिंह र अनुरागकुमार द्विवेदीले उजुर हालेका थिए । त्यसमध्ये द्विवेदी साउन ३ गते ५५ वर्ष लागेर घर जाँदैछन् । विभागमा २७ वर्ष जागिर खाएर घर जानुपर्ने हाकिमका हकमा न्याय दिने कुरा कतैबाट सोचिएन । बरु, उनीहरू कहिले जालान् र अरुलाई माथि ल्याउने भनेर हिसाब निकालिएको छ ।
त्यसअनुसार, बैशाख १५ गते चक्र रिटायर्ड भएपछि एसएसपीको रिक्त दरबन्दी संख्या १८ पुगेको हो । त्यसमा प्रतिस्पर्धीको संख्या २४ भयो र त्यसमध्येका छ जनालाई फ्याँकेर बढुवा निकाल्नुपर्ने चटारो प्रहरीलाई पर्यो ।
पहिलो नम्बरमा एसएसपी हुने व्यक्ति नै डिआइजीमा पहिलो नम्बर भए उही नै २०८४ चैत १८ गते आइजी हुने सम्भावना रहन्छ । त्यसबाहेक कतिपयलाई त्यसबेला एआइजी बन्न पनि यही बढुवाले सघाउँछ । अहिलेका उम्मेदवार सबै २०५६ असार ३ मा भर्ना भएको र सोही टोलीसँग तालिम गर्ने इन्स्पेक्टर हुन् ।
उनीहरू ०७५ जेठ २९ गते डिएसपीबाट बढुवा भएका थिए २५ जना । त्यसमध्ये दीपकराज खरेलले अवकाश पाइसकेका छन् । अहिले सोमेन्द्रसिंह राठौर, भूपेन्द्रबहादुर खत्री र विश्व अधिकारी क्रमशः १, २ र ३ नम्बरमा छन् । तर, ०७५ सालको बढुवामा उनीहरूको वरियता यस्तो थिएन । त्यसबेला एसपी हुनेमध्ये विश्व अधिकारी पहिलो नम्बरमा थिए भने सानुराम भट्टराई र ओमप्रसाद अधिकारी क्रमशः २ र ३ नम्बरमा रहे । अहिले पहिलो नम्बरमा हुने भनिएका सोमेन्द्र त्यसबेला ७ र भूपेन्द्र १२ नम्बरमा थिए ।
यी तीनबाहेक सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, आभूषण तिम्सिना, दीपसमशेर जबरा, गंगा पन्तसहितको बढुवा सूची तयार पारिँदैछ । त्यसबाहेक बढुवायोग्य एसपीहरूमा विश्वमणि पोखरेल, शेखर खनाल, अविनारायण काफ्ले, मुकन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्ली मगर, गोपालचन्द्र भट्टराई, रविकुमार पौडेल, बेलबहादुर पाण्डे, नवीनराज राई, तारादेवी थापा, प्रवीण पोखरेल, प्रज्वल महर्जन, बसन्त रजौरे, वीरबहादुर ओली, चन्द्रदेव राई छन् । उनीहरू ०६७ पुस २३ मा सँगै इन्स्पेक्टरबाट बढुवा भएका थिए । तर, एसएसपी हुने बेलामा टोलीबाट सात जना छाटिँदै छन् । त्यसमध्ये ३० वर्षे रहिरहेमा विश्वमणि भदौ १ गते, दिनेश, रवि, बेलबहादुर, वीरबहादुर र चन्द्रदेवहरू अर्को वर्षको भदौ १६ मा अवकाश हुन्छन् ।
यदि प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहेमा अहिलेका आइजी बसन्त कुँवर, पहिलो नम्बरका एआइजी टेकप्रसाद राई ०८१ भदौ ५ मा घर जान्छन् र त्यसपछि ०८२ भदौ ११ गतेसम्मका लागि दीपक थापा र टेकबहादुर तामाङमध्ये एक जना आइजी हुन्छन् । उनीहरूले अवकाश पाएपछि अहिलेका एसएसपीहरूमध्ये एउटा लटमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधव श्रेष्ठमध्ये एक जना, त्यसपछि ०८३ भदौ ५ मा दानबहादुर कार्की डा.मनोज केसी, दानबहादुर कार्की, दिनेशकुमार आचार्यमध्ये एक जना आइजी हुने वरियता छ । त्यसपछि मात्रै अहिले एसएसपी हुनेहरूको पालो आउँछ ।
टिप्पणीहरू