रास्वपाको माग : मनसुन लागेपछि क्रिकेट प्रतियोगिता गराइयोस्

रास्वपाको माग : मनसुन लागेपछि क्रिकेट प्रतियोगिता गराइयोस्

आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेटमा नेपाल छनोट भएपछि यतिबेला देशैभर खुशीयाली छाएको छ । क्रिकेटप्रेमीसँगै आमनागरिक पनि यो सफलताले उत्साहित छन्  

प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेतासम्मले नेपाली क्रिकेट टिमलाई बधाई दिइरहेका छन् । स्रोत साधनको सीमितताका बाबजुद् उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई हौसला दिनु स्वभाविक नै हो । 

तर, कतिपयले खेलाडीको मेहनतले आर्जिएको यो सफलतालाई आफ्नो प्रशंसा बटुल्ने माध्यम बनाउने प्रयास पनि गरेका छन्, जुन गलत अभ्यास हो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले एसिया कपका खेल नेपालमा गराउन सरकारसँग औपचारिक माग गरेको छ । 

‘जान्नेलाई छान्ने पार्टी’ भनिएको रास्वपाले विज्ञप्ति नै निकालेर गरेको यो आग्रह तथ्यमा टेकेर हेर्दा असम्भव प्रायः छ । त्यसैले यो सस्तो लोकप्रियता बाहेक अरु केही नभएको धेरैको बुझाइ छ । 

‘खेलाडीहरुको आजको प्रदर्शनले नेपालको प्रतिष्ठा बढाएको छ । यसैबीच एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसंगमा एसिया कपका समूह चरणका खेलहरु नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरु र एसीसीसँग आजैदेखि पहल थालियोस्’, महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

रास्वपाको यो माग झट्ट सुन्दा आकर्षक र लोकप्रिय सुनिन्छ । किनभने क्रिकेटका महारथी भारत र पाकिस्तान जस्ता मुलुकलाई नेपालमा ल्याएर क्रिकेट खेलाउने कुरा आफैंमा महत्वपूर्ण छ । अझ एसिएन क्रिकेट काउन्सिल (एसीसी) को आधिकारिक प्रतियोगिता नेपालमा गराउन सक्दा हाम्रो क्रिकेट विकासमा त्यो कोशेढुंगा सावित हुनसक्छ । 

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता क्रिकेटका सुपर पावरसँग हाम्रा खेलाडीहरुले अहिलेसम्म खेल्ने मौका नपाएको अवस्थामा एसीसी कप यहाँ खेलाउने कुरा चाहनाका हिसाबले राम्रै होला । तर, व्यावहारिक दृष्टिकोणले भने एउटा मिठो चाहना मात्रै हो । मुख्यतः तीनवटा कारणले एसीसी कप नेपालमा सञ्चालन गर्न असम्भव नै छ ।  

सबैभन्दा पहिलो कारण क्रिकेटका ठूला राष्ट्र सम्मिलित खेल खेलाउन नेपालसँग स्तरीय मैदान र अन्य संरचना नै छैन । नेपाल अहिले पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पूर्णतः निर्भर छ । त्यो पनि भारत, पाकिस्तानलगायत देशलाई ल्याएर खेलाउन कति योग्य छ भन्ने आफैँमा प्रश्न छ । एसीसी प्रिमिएर कपका लागि बल्लबल्ल सञ्चालनमा ल्याइएको मूलपानी मैदानमा आइसीसीका ठूला प्रतियोगिता कति सम्भव छ ? त्यो पनि निचोड निकालिएको छैन । यहाँ प्रिमिएर कपको एउटा मात्र ओडीआई खेल भएको थियो । 

दोस्रो, मौसमका कारण पनि त्यतिबेला नेपालमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सम्भव देखिँदैन । किनभने एसीसी कप सेप्टेम्बर अर्थात् भदौमा हुँदैछ । नेपालमा घनघोर वर्षा हुने समय हो त्यो । 

अहिले वैशाखमा समेत एसीसी प्रिमिएर कपको फाइनलसहित केही खेल वर्षाले बिथोलिएको थियो । रास्वपाको माग हेर्दा वर्षामा क्रिकेट खेल्न मिल्दैन भन्ने सामान्य ज्ञानसमेत सो पार्टीका नेताहरुमा रहेको देखिएन ।

एसीसी प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको पाकिस्तानले सहजै नेपालमा खेल खेलाउन सहमति दिन्छ भन्नु अर्को अज्ञानता र भूल हुनेछ । किनभने उसले यहि प्रतियोगिताका लागि भनेर करोडौँ लगानी गरिसकेको छ । भारतले आफ्ना खेलाडी पाकिस्तान नपठाउने अडान लिँदासमेत उसले प्रतियोगिता अन्यत्र सार्न मानिरहेको छैन । 

यी सबै तथ्यको अध्ययन नगरी रास्वपाले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेण्डासमेत सामेल गर्न माग राख्नु हास्यास्पद लाग्छ । क्रिकेटको ठूलो क्रेज भएको देशमा यसले क्षणिक वाहवाही कमाउन त सक्ला तर, एउटा जिम्मेवार पार्टीले यस्तो बेतुके माग तेर्साउनु भनेको एकछिनको आत्मरति भन्दा बढी केही नहुने निश्चित छ । तथ्यमा उभिएर हेर्दा रास्वपाको यो माग ‘मोही पार्ने तर घ्यू नलाग्ने’ भने जस्तै होइन र ?

टिप्पणीहरू