मेरो चरित्रहत्या गरियो : डा. आरजू राणा

मेरो चरित्रहत्या गरियो : डा. आरजू राणा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाकी सांसद डा.आरजू राणाले आफूमाथि नियोजित आरोप लगाइएको बताउनुभएको छ । आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले केही व्यक्तिले निराधार र कपोलकल्पित आरोप लगाइरहेको उहाँको दुखेसो छ । 

आज विज्ञप्ति प्रकाशित गर्दै उहाँले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिले निराधार र कपोलकल्पित आरोप लगाएको भन्दै चित्त दुखाउनु भएको हो । सबैलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार भएपनि कसैलाई आधारहीन गालीगलौज र लान्छना लगाउने अधिकार नरहेको राणाको भनाई छ ।  

‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, राणाको विज्ञप्तिमा भनिएको छ, ‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ । तर कसैलाई पनि कोहीविरुद्ध आधारहीन गालीगलौज र लाञ्छना लगाउने अधिकार छैन ।’

नियोजित रुपमा आफ्नो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चार माध्यममा अन्तर्वार्ता दिँदै गाली बेइज्जतीमा  उत्रिएको दाबी गर्दै उहाँले त्यसप्रति खेद प्रकटसमेत गर्नुभएको छ । 

‘तथ्यमा रहेर कसैको हस्तक्षेप बिना विचार राख्ने र मिडियामार्फत सूचना र विचारहरू दिन सकिन्छ तर नियोजित रुपमा मबिरुद्ध व्यक्तिगत मानर्मदन गर्ने र हुँदै नभएका आधारहीन विभिन्न विवादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु’, नेतृ राणाको आग्रह छ । 

काँग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणामाथि पार्टीमा एकलौटी गरेको काँग्रेसभित्रै आरोप छ । देउवा प्रधानमन्त्री हुँदा सरुवा, बढुवादेखि विभिन्न नियुक्ति र क्याबिनेटका निर्णयमा समेत उहाँ हावी हुने गरेको काँग्रेसका नेताहरुले नै बताउने गरेका छन् ।

पछिल्लो समय स्वर्णिम वाग्लेले ‘शेरबहादुर–आरजू गिरोह’ मा बस्न नसकेको भन्दै काँग्रेस छोड्दा पनि धेरैले राणामाथि नै प्रश्न उठाएका थिए । विगतमा शेरबहादुर देउवाको विश्वासपात्र भनेर चिनिने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आरजुतर्फ संकेत गर्दै ‘गणतान्त्रिक पम्फादेवी’ को संज्ञा दिएका थिए ।

टिप्पणीहरू