राति काठमाडौं छिरेको भनिएका एमाले सचिव टोपबहादुर भैरहवामा प्रकट !
गएराति स्थलमार्ग हुँदै काठमाडौं छिरेको भनिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले भैरहवामा नियन्त्रणमा लिएको बताइएको छ ।
हिजो राति भैरहवाबाट बुद्ध एअरको उडानमा काठमाडौं आउने तयारीमा रहेका उनी एकाएक बेखबर भएका थिए । तर रायमाझीको सचिवालयले उनी राति नै काठमाडौं छिरेको जानकारी दिएको थियो ।
सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री रायमाझी आज बिहान भैरहवमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
उनका छोरा सन्दीपलाई हिजो साँझ बुटवलमा नियन्त्रणमा लिएर बिहान काठमाडौं ल्याइएको छ । आज दिउँसो टोपबहादुरलाई पनि काठमाडौँ ल्याउने तयारी गरिएको बताइए पनि प्रहरीले औपचारिक जानकारी दिएको छैन ।
हिजो दिनभर एमाले सचिव रायमाझी सभामुख देवराज घिमिरेसँगै गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा व्यस्त थिए । सभामुख घिमिरेसँगै विमानमार्फत काठमाडौं आउन लागेका उनले हिजो राति अन्तिम समयमा टिकट क्यान्सिल्ड गरेका थिए ।
काठमाडौं आइपुग्ने बित्तिकै पक्राउ पर्ने जानकारी पाएपछि उनी सडकमार्गबाट काठमाडौैं हिँडेको आशंका गरिएको थियो । रायमाझीको सचिवालयलेसमेत उनी काठमाडौंमा रहेको जानकारी गराएको थियो । तर रायमाझी आज बिहान भैरहवामा फेला परेका हुन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा हिजो उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । अस्ति तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरिएको हो ।
बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने राईका छोरामाथि आशंका गरिएको छ ।
टिप्पणीहरू