सरकारबारे निधो गर्न रास्वपाका नेताहरु घण्टीघरमा जुटे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुरु भएको छ । बसुन्धारास्थित पार्टी कार्यालय घण्टीघरमा अहिले बैठक बसिरहेको छ । बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारे निर्णय लिने नेताहरुले बताएका छन् ।
 
बैठकमा सभापति रवि लामिछाने, उपसभापति डाेल प्रसाद अर्याल, प्रवक्ता मुकुल ढकाल,सह महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसदहरु डा.स्वर्णिम वाग्ले, डा.तोसिमा कार्की, गणेश पराजुली, सोविता गौतम, केन्द्रीय सदस्य रमेश प्रसाईलगायतको उपस्थिति रहेको छ । 

सरकारलाई समर्थन दिएर प्रतिपक्षमा बसेको रास्वपा सरकारमा जान इच्छुक देखिन्छ । त्यसका लागि सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुटै संवाद पनि गरिसकेका छन् । 

तर, रास्वपाका केही शर्तका कारण प्रधानमन्त्री अप्ठेरोमा परेको बताइन्छ । सरकारमा जान रास्वपाले साविकमा पाएको मन्त्रालय पाउनुपर्ने शर्त राखेको छ । तर, ति मन्त्रालय अहिले खालि छैनन् । 

तर, रास्वपालाई कुनै हालतमा सरकारमा सामेल गराउने तयारी प्रधानमन्त्रीको छ । प्रधानमन्त्री प्रचण्डले केही दिन पर्खन आग्रह गरेपछि अस्ति बसेको केन्द्रीय समिति बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे निर्णय नगरेको रास्वपाले आजका लागि बैठक बोलाएको हो । 

 प्रधानमन्त्री प्रचण्डको ठोस जवाफको प्रतिक्षा गरिरहेको रास्वपाले आजैको बैठकबाट सरकारमा जाने वा समर्थन फिर्ता लिने निर्णय गर्ने सम्भावना छ । रास्वपाका नेताहरुले यसअघि अहिलेजस्तो सरकारलाई समर्थन दिएर बाहिर बस्ने मझधारको निर्णय नगर्ने बताइसकेका छन् ।

टिप्पणीहरू