काँडेतारमाथि कैंचीको कहर

काँडेतारमाथि कैंचीको कहर

नेपाली मौलिक विषयवस्तुको उठान, फरक धारमा चलचित्र निर्माण गर्दै आएका नवल खड्कालाई चलचित्र सेन्सर बोर्डले अप्ठ्यारोमा पारेसँगै उनी सेन्सर बोर्डविरुद्ध ‘आगो’ भएका छन् ।

यसअघि आवाज, दशगजा, भीमदत्तजस्ता चलचित्र निर्माण गरिसकेका हाल निर्माता संघको अध्यक्षको कुर्सीमा रहेका नवलले नेपाल र भारतको सीमा समस्याको उठान गर्दै नेपाल–भारत खुला सीमाका कारण भैरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्धको प्रतिरोधमा सीमामा काँडेतार लगाउनुपर्ने सन्देशसहितको चलचित्र निर्माण गरे ।

उक्त चलचित्रका कतिपय सिनमाथि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले कैची चलाउन खोजेपछि उनी सेन्सर बोर्डविरुद्ध आगो भएका हुन् । सेन्सर बोर्डको नेतृत्व मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले गरिरहेका छन् । बोर्ड सदस्यको जिम्मेवारीमा रहेका निर्देशक भूपेन्द्र खड्का, ऋषिराज आचार्य, सरल पुन मगरलगायत छन् ।

उनीहरू सम्मिलित बोर्डले काँडेतार हेरेपछि केही संवाद र दृश्यमा कैंची चलाउन खोजेका थिए । तर, काँडेतारका संवाद र दृश्य काट्ने निर्णयप्रति आपत्ति जनाउँदै नवल सेन्सरका पदाधिकारीसँग क्रुद्ध भएका हुन् । कुनै पनि संवाद र दृश्य नकाटी सेन्सर सर्टिफिकेट नदिएको खण्डमा अदालत जाने धम्कीसमेत खड्काले दिएका छन् । हिन्दी र अंग्रेजी चलचित्र कपी गरेर सिनेमा बनाउनेहरूको भीडमा अलग छन् नवल । मौलिक कथावस्तुमाथि चलचित्र बनाउँदै आइएका नवलको काँडेतारको लेखन तथा निर्देशन खड्काकै छ ।

जहाँ गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको पनि फिल्ममा अभिनय छ । 
 

टिप्पणीहरू