बालकृष्ण खाँण समातिएलगत्तै काँग्रेस टोली गृह मन्त्रालय जाँदै

बालकृष्ण खाँण समातिएलगत्तै काँग्रेस टोली गृह मन्त्रालय जाँदै

नक्कली शरणार्थी खडा गरेर करोडौँ कुम्ल्याउने गिरोहमा संलग्न सबैलाई कारबाही गर्न माग गर्दै सत्तारुढ नेपाली काँग्रेसका युवा नेताहरुले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । 

आज दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको बताइएको छ । काँग्रेसका युवा नेताहरु गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतको टिम ज्ञापनपत्र लिएर दिउँसो १ बजे मन्त्रालय जाने तयारीमा छ ।

सर्वसाधारण नेपालीलाई भूटानी शरणार्थी बनाएर करोडौं असुल्ने गिरोहमा उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको संलग्नता खुलिसकेको छ । आज बिहानमात्रै पूर्वगृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँण सोही प्रकरणमा समातिएका छन् । उनीसँगै उनका निजी सहायक नरेन्द्र केसी पनि प्रहरी हिरासतमा पुगेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, त्यतिबेलाका गृहसचिव (अहिले उपराष्ट्रपति कार्यालय) टेकनारायण पाण्डे र एमाले सचिव तथा प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी यसअघि नै पक्राउ परिसकेका छन् । 

एमाले सचिव टोपबहादुर रायमाझी आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार छन् । त्यस्तै एमाले उपाध्यक्ष बादलपुत्र प्रतीक थापा पनि फरार सूचीमा छन् । उनीहरुलाई प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

टिप्पणीहरू