काँग्रेस नेतृ डा. आरजू साइबर ब्युरोमा
नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् प्रतिनिधिसभा सदस्य डा. आरजू राणा देउवाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर कुराकानी गरिएको अडियोको सत्यतथ्य पत्ता लगाउन माग गर्दै आज ब्यूरोमा उजुरी दिइएको बताइएको छ ।
आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न सञ्चार माध्यममा आफ्नो नाम जोडेर कुराकानी गरिएको अडियो सार्वजनिक गरिएको आरजूको आरोप छ । उक्त अडियोबारे तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै उनले दोषीमाथि कडा कानूनी कारबाही हुनुपर्ने बताएकी छन् ।
‘विभिन्न सञ्चार माध्यममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् । उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानूनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छ,’ ब्युुरोमा हालिएको उजुरीमा उल्लेख छ ।
टिप्पणीहरू