सभामुखसँग बिरामी बिदा मागेर फेसबुकबाट आत्मसमर्पणको संकेत गरेका टोपबहादुर फेरि हराए

सभामुखसँग बिरामी बिदा मागेर फेसबुकबाट आत्मसमर्पणको संकेत गरेका टोपबहादुर फेरि हराए

आज साँझ प्रहरीमा गिरफ्तारी दिने बताएका एमाले सांसद टोपबहादुर रायमाझीको वचन फेरि झुठो साबित भएको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारि गरेपछि फरार रहेका उनी यसअघि जस्तै अनुसन्धानमा सघाउने भन्दै आज पनि लापता भएका हुन् । पक्राउ पुर्जी जारी भएको एक हप्तापछि आज फेसबुकमा स्टाटस लेख्दै उनले साँझ साढे ५ बजे गिरफ्तारी दिने बताएका थिए । 

तर, यो समाचार तयार पार्दासम्म उनी पक्राउ परेको प्रहरीले औपचारिक जानकारी दिएको छैन । 

आफू बिरामी परेकाले मोबाइल अफ गरेर उपचारका लागि अस्पताल गएको दाबी गरेका रायमाझीले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएकोमा आपत्तिसमेत जनाएका थिए । आफूमाथि लागेको आरोप निराधार सावित गर्न आज साँझ साढे ५ बजे प्रहरीमा जाने उनले लेखेका थिए । 

यसअघि पक्राउ पुर्जी जारी भएकै दिन गत बुधबार सभामुख देवराज घिमिरेसँगै गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा उनी सँगै मञ्चमा देखिएका थिए । त्यहाँ स्थानीय पत्रकारसँग कुरा गर्दै उनले काठमाडौं गएर प्रहरीलाई अनुसन्धानमा सघाउने बताएका थिए । 

तर, काठमाडौं फर्किने हवाई टिकट क्यान्सिल्ड गराएर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन छन् । प्रहरीले उनको व्यापक खोजी गरिरहेको छ । 

यता, रायमाझीले संसद सचिवालयलाई पत्र लेखेर आफूलाई बिरामी बिदा मिलाइदिन आग्रह गरेको बताइएको छ । विना जानकारी लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसदलाई सभामुखले ठाडै निलम्बन गर्नसक्ने कानुनी व्यवस्था रहेकाले पद जोगाउन रायमाझीले अज्ञातस्थलबाट पत्र लेखेका हुन् ।

टिप्पणीहरू