माननीयहरु किन गैरहन्छन् विदेश ?

माननीयहरु किन गैरहन्छन् विदेश ?

संसदको मुख्य जिम्मेवारी कानुन निर्माण हो । त्यसकारण संसदलाई नीति निर्माणको उच्चतम थलो भनिन्छ । त्यसमा प्रत्यक्ष जोडिन्छन्, सांसदहरु । सदनमा पेश हुने विधेयक,नीति कार्यक्रम र बजेटमाथि गहन छलफल गरेर त्यसलाई कानुनको रुप दिने अनिवार्य जिम्मेवारी सांसदहरुको हुन्छ । 

तर,कानुन बनाउने जिम्मा पाएका अधिकांश माननीयहरुका लागि संसद बैठकमा उपस्थित हुने विषय प्राथमिकतामै पर्दैन । जसका कारण सिङ्गै संसद्को कामकारवाही निष्प्रभावी भैरहेको सांसदहरुकै गुनासो सुनिन्छ । 

त्यसो त,सांसदहरु संसदमा हाजिर लगाएर भत्ता निश्चित गर्ने र कुलेलम ठोक्ने प्रवृत्ति नेपालको संसदीय इतिहासमा नौलो होइन । तर,पछिल्लो समय यस्तो प्रवृत्ति झन बढेको छ । लाजमर्दो कुरा त,कयौं पटक गणपुरक संख्या नपुगेर संसद बैठक स्थगित भएका छन् । खासगरी शीर्ष नेता, समानुपातिकबाट छानिएका व्यापारी/ठेकेदार सांसदहरुका लागि संसद बैठक प्राथमिकतामै पर्दैन । उनीहरुलाई बैठकमा जाने फुर्सद नै हुँदैन । 

संसद सचिवालयको हाजिरी रेकर्ड हेर्दा पार्टीका शीर्ष नेतालाई कुस्त रकम टक्र्याएर त्यसवापत माननीयको फुली थापेका सांसदहरु नै अधिकांश गयल देखिन्छन् । कोही बिरामीको बहानामा बैठकमा जान्दैनन् । कोही फौजदारी कसूरबाट जोगिन भएका फरार छन् र अज्ञातस्थलबाटै सभामुखलाई पत्र लेखेर जागिर जोगाइदिन हारगुहार गर्छन् । कतिपयलाई भने सांसद पद रातो पासपोर्ट बोकेर विदेश उड्ने गतिलो माध्यम बनेको छ । 

व्यक्ति हत्याको अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी पुसदेखि संसद बैठकमा गएका छैनन् । लगातार १० वटा बैठकमा उपस्थित नभएका उनलाई हालै मात्र पदबाट निलम्बन गरिएको छ । स्वास्थ्य उपचारमा रहेको भनी सभामुखलाई पत्र लेखेका उनलाई जोगाउने प्रयास भए पनि अन्तत: संसद्को हिउँदे अधिवेशन अन्त्य भएको दिन निलम्बनको कारबाही गरिएको थियो । 

नक्कली शरणार्थी प्रकरणमा फरार रहेका एमालेकै अर्का सांसद टोपबहादुर रायमाझी पनि केही समययता संसद बैठकमा अनुपस्थित छन् । हिजोमात्र उनले अज्ञातस्थलबाट सभामुखलाई पत्र लेखेर आफू बिरामी भएकाले बिदा मिलाइदिन हारगुहार गरेको खबर सार्वजनिक भएको छ । 

कतिपय सांसदलाई चैं विदेश भ्रमणको धपेडीले संसदमा जान समय अभाव छ । विशेषत: एमाले अध्यक्ष केपी ओलीको निगाहामा समानुपातिकबाट छानिएका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल विदेश यात्राले संसदमा जान नभ्याउने सांसदमा पर्छन् । अधिकाशं समय जहाजमै बिताउने उनी बैशाख महिनामा मात्रै भारत, कोरिया, सिंगापुर र हङकङ घुमिसकेका छन् ।  

कोरियाली क्रिस्चियन अभियानका हर्ताकर्ता र "होलीवाइन" को उपनामले परिचित ढकाल धेरैजसो  बैंकक, क्वालालम्पुर, मनिला, सोल र सिड्नी उड्ने गर्छन् । पछिल्लो पटक गत मंगलबार उनी कोरियाको राजधानी सिउलबाट हङकङ हुँदै काठमाडौँ उत्रिएर सोही उडानबाट उतै फर्किएका थिए । क्याथे प्यासेफिकको उडानमा राति साढे १० बजे काठमाडौँ आइपुगेका उनी मध्यराति साढे १२ बजे पुन: हङकङ हुँदै सिउल गएका हुन् । 

बालुवाटार र महाराजगंजको बीचमा पर्ने पन्चकन्या मन्दिर नजिकै बस्ने ढकाल घरसमेत नछिरी विमानस्थलको आगवन कक्षबाट निस्केर लगत्तै प्रस्थान कक्षमा प्रवेश गर्नु आफैँमा रहस्यमय पनि छ । सांसदजस्तो जिम्मेवार व्यक्ति मध्यराति विमानस्थलमा ओर्लेर पुनः उतै लाग्नुलाई शंकास्पद ठानिएको छ ।

 त्यसअघि उनी बैशाख १७ गते कोरिया गएका थिए । राति साढे १२ बजे काठमाडौंबाट सिओलतर्फ उडेका उनी मंगलबार दुई घन्टाका लागि एअरपोर्ट छिरे र फेरि उतै उडेका हुन् । 

त्यसको एक साताअघि उनी दिल्ली गएका थिए ।  बैशाख ९ गते बिहान साढे १० बजे एअर इण्डियाको उडान नम्बर एआई २१४ बाट नयाँ दिल्ली गएका ढकाल अघिल्लो साता बैंककबाट फर्किएका थिए । 

धेरिजसो कोरिया गैरहने सांसद ढकालको ससुराली फिलिपिन्सको राजधानी मनिला हो । यस वर्षको क्रिसमस उनले ससुरालीमै मनाएका थिए । त्यतिबेला एउटा कार्गो चार्टर उडानमा मनिला गएका उनी क्रिसमस मनाएर सिंगापुरको बाटो फर्किएका थिए ।

विदेश भ्रमण गरिरहने अर्का माननीय हुन् डलर अर्वपति भनेर चिनिने विनोद चौधरी । नेपालबाट पैसा लगेर दुबई, श्रीलंका, बंगलादेशलगायत विभिन्न देशमा ब्यापार गरिरहेका उनी ती देशको यात्रा गरिरहन्छन् ।

टिप्पणीहरू