खेलकुद विकास बोर्डका सदस्यसचिवलाई दोस्रो स्पष्टीकरण

खेलकुद विकास बोर्डका सदस्यसचिवलाई दोस्रो स्पष्टीकरण

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई पुनः स्पष्टीकरण सोधेको छ । 

यसअघि वैशाख १७ गते स्पष्टीकरण सोधिएकोमा चित्त बुझ्दो जवाफ नआएको भन्दै मन्त्रालयले पुनः तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । तर, फ्लेक्स ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख भएको नदेखिएपछि बोर्ड सदस्यसचिव वाग्लेलाई स्पष्टीकरण सोधिएको बताइएको छ ।  

फ्लेक्स ब्यानरमा कोशी प्रदेश उल्लेख नभएपछि प्रतियोगितासम्बद्ध पत्राचार, चेक, प्रमाणपत्रलगायतमा कोशी प्रदेश लेखिने कार्यभित्र नियत लुकेको मन्त्रालयको भनाइ छ । 

यस सम्बन्धमा बोर्ड अध्यक्ष तथा सामाजिकमन्त्रीलाई यथासमयमा जानकारी समेत नगराएकाले मुख्य ब्यानरको बीच भागमा कोशी प्रदेश लेखिएको अर्को ब्यानर तयार गरेर फोटो खिच्ने कार्यले बचाउको लागि मात्र प्रमाण बनाइएको मन्त्रालयको ठहर छ ।  

‘प्रदेश खेलकुद ऐन, २०७६ को दफा ४ को उपदफा ९४० बमोजिम तपाईंले इमान्दारितापूर्वक आफ्नो कर्तव्य पालना गरेको नदेखिएकाले सोका आधारमा तपाईंलाई आफ्नो पदबाट किन नहटाउने ?,’ सदस्यसचिव वाग्लेलाई कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न बुझाइएको पत्रमा उल्लेख छ ।

टिप्पणीहरू