बालकृष्ण खाँण विदेशी दबाबमा पक्राउ परेको दाबी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रष्टाचार छानबिनका लागि विदेशी दबाब नै चाहिने ? भन्दै प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मिश्रले भुटानी शरणार्थी प्रकरण अमेरिकासँग जोडिएको र उनीहरुको धम्कीपूर्ण दबाब नभएको भए नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्ने र एमालेका नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पना गर्न नसकिने बताएका छन् ।
उनले भनेका छन्, ‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ,उनीहरुको चासो र सम्भवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए काँग्रेसका ठूला नेता बालकृष्ण खाँण पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनैपर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुने कल्पना गर्न सकिँदैन ।’
अन्य अनगिन्ती काण्डमा कोही ठूला नेता गिरफ्तार नहुने बताउँदै मिश्रले यो कार्य केवल भ्रष्टाचारको कालोमोटो पोतिएको अनुहारमा सेतो रङ दल्ने प्रयास मात्रै भएको आरोप लगाएका छन् ।
साथै, उनले अहिले ‘वाहवाह गृहमन्त्री गजब गर्नुभयो,सरकार खुट्टा नकमाऊ’ भन्नु बेकार रहेको उल्लेख गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै अन्तरआत्माको आँटले यो कार्य गरिरहेको भए उनले पालैपालो दर्जनौंलाई सप्रमाण पक्राउ गर्न सक्नेमा सन्देह नहुने जनाएका छन् ।
त्यस्तै, काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र नेकपा माओवादीका सांसद माधव सापकोटाले शरणार्थी काण्डको छानबिन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था एफबीआईले गरिरहेको टिप्पणीलाई नबिर्सन पनि उनले भनेका हुन् ।
टिप्पणीहरू