बालुवाटार काण्डका दोषीलाई कारबाही गर्न एमाले विद्यार्थीको माग

बालुवाटार काण्डका दोषीलाई कारबाही गर्न एमाले विद्यार्थीको माग

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै काठमाडौँको पब्लिक युथ क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । 

अनेरास्ववियु क्याम्पस इकाई कमिटीले आज बिहान नाराबाजीसहित प्रदर्शन गरेको हो । क्याम्पस कमिटीका अध्यक्ष लक्ष्मण दुलाल नेतृत्वमा निस्किएका प्रदर्शनकारीहरुले नक्कली शरणार्थी बनाएर नागरिक बेच्ने अपराधकर्ममा जोडिएका सबैलाई छानविनको दायारामा ल्याउन मागसमेत गरेका थिए । 

त्यसक्रममा उनीहरुले 'के छ हो भ्रष्टाचारीहरुको खबर', 'देशमा भएका सबैखाले भ्रष्टाचारको अन्त्य गर', 'बालुवाटार काण्डका नाइकेहरुलाई कारबाही गर', भूटानी शरणार्थी काण्डका मुख्य नाइके महारानीहरुलाई पक्राउ गर' लेखिएका प्लेकार्ड देखाएका थिए । 

स्मरण रहोस्, नक्कली शरणार्थी प्रकरणमा अनेरास्ववियुको मातृ पार्टी एमालेका सचिव टोपबहादुर रायमाझीको पनि नाम मुछिएको छ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । 

त्यस्तै, ललिता निवास जग्गा काण्डमा एमालेकै उपाध्यक्ष विष्णु पौडेलको समेत नाम जोडिएको थियो । तर, घुस्याहाले घुस फिर्ता गरेर उन्मुक्ति पाएझैँ पौडेलले जग्गा फिर्ता गरेपछि उनलाई चोख्याइएको थियो ।

टिप्पणीहरू