गुरुको चितामा हाम फालेर ‘आत्मदाह’
प्यास लागेकालाई पानी नदिने जमानामा एक धार्मिक शिष्यले गुरुका लागि आफ्नो प्राण दिएको सुन्दा धेरैलाई विश्वास नलाग्न सक्छ त्यो पनि दनदनी बलेको चितामा हामफालेर ।
तर, सिरहामा यस्तै घटना भएको छ । मृत गुरुको जल्दै गरेको चितामा हाम फालेर शिष्यले आफ्नो जीवनको आहुती दिएका छन् ।
अस्ति बुधबारको घटना हो यो । बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ स्थित गाउँ नजिकैको बाँझो खेतमा चिता दनदनी बलिरहेको थियो । गाउँलेको बाक्लै उपस्थिति थियो । मलामीका आँखा रसाइरहेका थिए ।
त्यही बेला एक युवा कहालिँदै र डाँको छाडेर रुँदै आगो दन्किएको चितातर्फ दगुरे,लगत्तै हाम फाले । उपस्थित मलामी सबै अलमलमा परे । केही उनको उध्दारको निम्ति दौडिँदै चितासम्म पुगे । तर, दनदनी बलेको चितामा उनको शरीरको अधिकांश भाग डढिसकेको थियो ।
मलामी गएकाहरुले चाहेर पनि बचाउन सकेनन् । उनले गुरुसँगै आफ्नो प्राण त्यागे । आङ्ग सिरिङ्ग बनाउने यो दृश्य कुनै सिनेमाको होइन वास्तविक घटना हो । आफ्नो गुरुको मृत्यु सहन नसकेका शिष्यले उनीसँगै आफ्नो प्राणको आहुती दिएका हुन् ।
घटनाको भिडियो कैद भएकाले पत्याउनैपर्ने बाध्यता छ । बरियारपट्टीमा विष्णुजी बाबाको रुपमा परिचित विष्णुजी महाराजको १२२ वर्षको उमेरमा अस्ति निधन भएको थियो । गाउँलेहरुले अन्तिम संस्कार गरिरहँदा ती चेलाले उनी जलिरहेको चितामा हामफालेर प्राण दिएको प्रत्यक्षदर्शी गुमस्ता यादवले पनि बताए ।
बरियारपट्टीको डरगम्मास्थित कुटिमा बस्दै आएका शुध्द सनातनी बाबाका चेलाको नामसमेत कसैलाई थाहा छैन । उनलाई सबैले बाबाको सेवक भनेर चिन्थे । एक स्थानीयले भने, ‘विष्णुजी महाराज एक त्यागी र शुध्द सन्यासी बाबा थिए । साधुसन्तको शुध्द परिभाषा बोकेका बाबा विष्णुजी महाराजमा चमात्कारिक गुण भएकाले १२२ वर्षसम्म बाँचेका हुन् ।’
हाल स्थानीयले ती चेलालाई महाभारतका एकलव्यको संज्ञा दिइरहेका छन् । एकलव्यले आफ्नो गुरुको लागि औंला काटेको र यो कलियुगमा एक चेलाले आफ्नो गुरुको लागि चितामा हामफालेर प्राण दिएको चर्चा यतिबेला व्यापक चलिरहेको छ ।
टिप्पणीहरू